बिसे नगर्चीको धोती

बिसे नगर्चीको धोती
राजकुमार दिक्पाल

भीमनिधि तिवारीको पाँच एकांकीमध्ये एउटा एकांकीमा ‘बिसे नगर्ची' पनि परेपछि जनसाधारणमा उनको बारेमा जानकारी भयो । खासगरी पञ्चायतकालमा छुवाछूतविरुद्ध अभियानमा सक्रिय अभियन्ताहरूले बिसे नगर्चीलाई सोधीखोजी गर्न थालेको पाइन्छ । यसमा दलित अगुवा तथा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य टीआर विश्वकर्माले पञ्चायतकालको उत्तराद्र्धमा निक्कै ठूलो प्रयत्न गरेको देखिन्छ ।
 
साहित्यको एउटा विधा नाटकको एउटा पात्रका रूपमा देखा परेका बिसे नगर्ची इतिहासको महत्त्वपूर्ण व्यक्ति हुन् भन्ने उद्देश्यका साथ उनको सोधीखोजी भयो । यसै क्रममा टीआर विश्वकर्मा, रामशरण दर्नाल, प्रकाश चित्रकार र प्रकाश दर्नालको संयुक्त प्रयासमा तयार पारिएको ‘बिसे नगर्चीको जीवनी' तत्कालीन राष्ट्रिय पञ्चायतका उपाध्यक्ष परशुराम राईको हातबाट २०४६ भदौ १ गते अर्थात् मुलुकी ऐन दिवसका दिन विमोचन गरिएको पुस्तक प्रकाशनमा सक्रिय दलित अधिकारवादी नेता पदम सुन्दासले ‘इसमता डट कम'मार्फत आफ्नो संस्मरण शृंखलामा सम्झना गरेका छन् ।
पछिल्लो समय बिसे नगर्चीलाई प्रतीक बनाएर कविताहरू लेखिए । तत्कालीन राष्ट्रियसभा सदस्य ऋषिबाबु परियारको सक्रियतामा बिसे नगर्चीको सालिक पनि तयार गरियो । तर यो सालिक अहिलेसम्म सार्वजनिक रूपमा ठडिएको कतै देख्न पाइँदैन ।
युद्ध गोरखाली पक्षले जित्यो । जितपछि ब्राह्मणबाट वेद तथा जयघोष भयो । नगरा बज्यो । नगरा बनाउने काम बिसे नगर्ची र बानादार दमाईले गरेका र उनीहरूलाई मणिराम गाइनेले साथ दिएका थिए भन्ने अनुमान सहजै गर्न सकिन्छ ।
 
बिसे नगर्चीको विषयमा ऐतिहासिक तथ्य प्रमाणहरू हुँदाहुँदै पनि उनको बारेमा त्यति इतिहास लेखेको पढ्न पाइँदैन । इतिहास शिरोमणि बाबुराम आचार्यले पनि ‘ श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको जीवनी' (२०२५) मा ‘एकीकरण अभियान सुरु गर्दा पृथ्वीनारायण शाहले उपल्लो थरघरदेखि बिसे दमाईसम्मको चित्त बुझाउनु परेको थियो' भनी असाध्यै सानो स्थान बिसे नगर्चीलाई दिएका छन् । तर इतिहासका स्रोतहरू पहिल्याउँदा बिसे नगर्ची पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानको प्रारम्भिककालको महत्त्वपूर्ण युद्धमोर्चामै सक्रिय रहेका पाइएको छ ।
 
नुवाकोटको युद्धमा बिसे नगर्ची
 
पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानअन्तरगत नुवाकोटमा भएको युद्धमा बिसे नगर्ची सहभागी थिए । पृथ्वीनारायण शाहले सफलता प्राप्त गरेको यो पहिलो युद्ध थियो । आक्रमणका लागि गोर्खालीले विभिन्न समूह बनाएको थियो । त्यहाँ बिसे नगर्ची पृथ्वीनारायण शाहले अगुवाइ गरेको समूहमा थिए । पुरातत्त्व विभागको मुखपत्र ‘प्राचीन नेपाल'ले केशरशमशेरको संग्रहमा रहेको ‘नेपाल देशको इतिहास संग्रह' श्रंखलाबद्ध रूपमा संख्या १२ देखि संख्या २७ सम्म (संख्या २४ देखि राजगुरु हेमराज पाण्डेको संग्रहको हस्तलिखित पुस्तकबाट) प्रकाशित गरेको छ । यस शृंखलामा तीन ठाउँमा बिसे नगर्चीको प्रसंग परेको छ । यसबाट उनी पृथ्वीनारायण शाहको समयका महत्त्वपूर्ण व्यक्ति हुन् भन्ने स्पष्ट हुन्छ ।
 
नरभूपाल शाहले विक्रम सम्बत १७९२ मा एक पटक नुवाकोटको असफल आक्रमण गरेका थिए । नरभूपाल शाहको निधनपछि पृथ्वीनारायण शाह विक्रम सम्बत् १७९९ मा २० वर्षको उमेरमा गोरखाका राजा भए । उनले पनि १८०० मा विराज थापा र गौरेश्वर पन्थको नेतृत्वमा फौज पठाई नुवाकोट आक्रमण गरेका थिए । तर गोरखाली फौज त्यसमा पनि सफल भएन । यस असफलताबाट पनि पृथ्वीनारायण शाह निराश भएनन् । अन्ततः सम्बत् १८०१ असोज १५ गतेको युद्धमा नुवाकोट गोरखाको अधीनमा आयो ।
 
यस युद्धमा चार ठाउँमा मोर्चा बाँधी गोर्खालीहरूले नुवाकोट आक्रमण गरेका थिए । तीमध्ये धर्मपानीको बाटोबाट चौतारिया महोद्दामकीर्ति शाहको नेतृत्वको फौज, अशोकबारीको बाटो बलभद्र शाह र कालु पाँडेको नेतृत्वको फौज र गेर्खुको बाटो जहाँगिर शाहको नेतृत्वको फौज अगाडि बढेको थियो । तीनघारेको बाटो स्वयम् पृथ्वीनारायण शाह अगाडि बढेका थिए । यही बाटोको मोर्चाबाट युद्ध लड्न अगाडि बढेको फौजमा बानादार दमाई र मणिराम गाइनेका साथ बिसे नगर्ची पनि सरिक थिए (प्राचीन नेपाल, संख्या २१: २८) ।
 
युद्ध गोरखाली पक्षले जित्यो । जितपछि ब्राह्मणबाट वेद तथा जयघोष भयो । नगरा बज्यो । नगरा बनाउने काम बिसे नगर्ची र बानादार दमाईले गरेका र उनीहरूलाई मणिराम गाइनेले साथ दिएका थिए भन्ने अनुमान सहजै गर्न सकिन्छ ।
 
कालु पाँडेलाई सल्लाह
 
पृथ्वीनारायण शाह एउटा गतिलो काजीको खोजीमा थिए । पहिले उनको आँखा विराज बखतीमाथि परेको थियो । उनले विभिन्न व्यक्तिसँग यसबारेमा परामर्श गर्दा धेरैले कालु पाँडेलाई कज्याइदिँदा राम्रो हुने सल्लाह दिएपछि उनलाई पृथ्वीनारायण शाहद्वारा काजी छानिएको प्रसंग ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेश' (२०६१)मा पढ्न पाइन्छ । कालु पाँडेलाई कज्याइदिने निर्णय पृथ्वीनारायण शाहले गरे पनि कालुले ससर्त उक्त पद स्वीकार गरेका थिए । 
 
काजी ग्रहण गर्नुअघि गोरखाका उपल्लो थरघरदेखि बिसे नगर्चीको घरसम्म पुगेर कालुले ‘राजाबाट बक्सेको काजी खाऊँ कि नखाऊँ' भनी सल्लाह मागेका थिए । यसै क्रममा कालुले पृथ्वीनारायण शाहसमक्ष ‘कजाइ खानु मेरा जियले मात्र होइन मेरा सन्तान दरसन्तानले गादिको सोझो गरी काम चलाउन सकुन्ज्याल पाँडेले नै खानु भन्ने बन्देज होस्' भन्दै आफ्नो दरसन्तानका लागिसमेत जागिरको सुनिश्चितता माग गरेका थिए । 
 
यस्तो मागउपर विचार गर्दै पृथ्वीनारायण शाहले ‘गादीको सोझो गरुन्ज्याल तेरा सन्तानलाई कजाई नखोस्नु यस बातका साक्षी श्री गुरु गोरखनाथ र श्री काली' भनी प्रतिबद्धता जनाएका थिए । दरबारबाट फर्केपछि कालु उपल्लो थरघरदेखि बिसे नगर्चीको घरसम्म पुगेर ‘मलाई महाराजबाट मुख्तियार बक्स्यो, खाऊँ कि नखाऊँ' भनी सोध्दा सबैले सल्लाह दिए, ‘महाराजबाट बक्सेको शिर चढाई काम गर्नुपर्छ, खानुहोस् (प्राचीन नेपाल, संख्या २१:२०)।'
 
यस प्रसंगबाट पनि तत्कालीन गोरखा राज्यमा बिसे नगर्चीको महत्त्व निक्कै ठूलो थियो भन्ने संकेत मिल्छ ।
 
सिरानचोकको युद्धमा बिसे नगर्चीको धोती
 
पृथ्वीनारायण शाहको राज्यविस्तार अभियान बढ्दै गयो । उनले नुवाकोटपछि भोटसँगको महत्त्वपूर्ण व्यापारिक मार्गमा पर्ने नालदुम (नगरकोट) विक्रम सम्बत् १८११ मा हात पारे । पृथ्वीनारायण शाह आफूतिर पनि आइलाग्ने सम्भावना बाईसी चौबिसी राजाहरूले देखे । गोरखालाई रोक्नुपर्ने संकेत पर्वते राजाले लमजुङलाई दिए । यो खबर नुवाकोटमा रहेका पृथ्वीनारायण शाहसमक्ष पुग्यो । 
 
उनले त्यहाँबाट चौतारिया कीर्तिमहोद्दाम शाह, काजी कालु पाँडे, सल्यानी द्वारे, कलै पाँडे, अम्बर पाँडेलगायतको सेनालाई लडाइँका लागि बिदा गरे (पूर्णिमा पूर्णांक ६: ४६)। लमजुङबाटै फुटेर विक्रम सम्बत् १६१६ मा गोरखा राज्य बनेको हो । त्यसैले लमजुङ र गोरखाबीच ईखाईख छँदैथियो । यी दुई राज्य एकअर्कामा खतरा महसुस गर्थे ।
 
पृथ्वीनारायण शाहले नेपाल (काठमाडौं उपत्यका) जित्ने मनसुवा राखेपछि पशुपतिको दर्शन गरेर पाल्पा फर्कंदा गोरखामा बास परेका बेला उनका मामा नीलकण्ठ सेनले उनलाई सल्लाह दिँदै भनेका थिए, ‘नेपाल भनेको भ्यागुता हो । गोरखा भनेको सर्प हो । लमजुङ भनेको गरुड हो । गरुडका डरले सर्पले भ्यागुता खान सक्दैन । तसर्थ सिमानाका राजासँग घा (मिलाप) हुन सक्दैन भन्छन् । अब लमजुङका राजासित घा बन्दोबस्त नगरी नेपालको इच्छा नराख्नुहोस् ।' यो प्रसंग ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेश' (२०६१) मा पढ्न पाइन्छ ।
 
पृथ्वीनारायण शाहले आफू युवराज छँदै नेपालको राजा हुने मनसुवा राखेका थिए र आफ्नो मामाको सल्लाहअनुसार लमजुङसँग सन्धि गरेका थिए । ‘एकानि शत्रु मित्र एकानि मित्र' नामको यो सन्धि विक्रम सम्बत् १७९६ माघ ११ गते बिहीबार भएको इतिहासकार देवीप्रसाद भण्डारीले ‘पृथ्वीनारायण शाहका समयका निश्चित सम्बत् तथा तिथिमितिहरू' शृंखलामा उल्लेख गरेका छन् (पूर्णिमा पूर्णांक ४:६१)।
 
यस सन्धि हुँदा लमजुङका राजा रिपुमर्दन शाह मन्त्रीका साथ सभामा उपस्थित रहेका थिए । गोरखाली दलको नेतृत्व काजी कालु पाँडेले गरेका थिए । सन्धिमा युवराज पृथ्वीनारायण शाह राजा नरभूपाल शाहको छाप बोकेर चनाखा मानिसका साथ चेपेघाटमा उपस्थित भएका गंगा कर्माचार्य हाडाले उल्लेख गरेकी छन् । (सिनास जर्नल वर्ष ३१, अंक २:३४२) ।
 
तर पर्वत र गोरखाबीचको ईखाईखले लमजुङ र गोरखाबीच युद्ध भयो । त्यसबेला बाइसीचौबिसी र गोरखासमेत मेहलको रूखमा चीर बाँधी होली गर्थे । त्यसबेला पर्वते राजाले अरू कुनै राजाले एक छते चीर गाड्यो भने सेनासहित पुगी चीर गाड्ने राजालाई जिती चीर च्यातिदिने गर्थे । यो कुरा थाहा पाएका पृथ्वीनारायण शाहले ‘पर्वते राजाले लौ च्यातोस् त' भन्दै तीन छते चीर गाडेर होली मनाई युद्धको हाँक दिएका थिए । पर्वते राजाले गोरखाको चीर च्यात्न त चाहे तर बीचमा लमजुङ पर्‌यो (पूर्णिमा पूर्णांक ६:४७) ।
 
अन्ततः गोरखा र लमजुङबीच युद्ध भएरै छाड्यो । सिरानचोकको लडाइँमा गोरखा पक्षका अम्बर पाँडे, कलै द्वारेलगायतको मृत्यु भयो । विक्रम सम्बत् १८१२ साउन १४ गते शनिबार भएको यस युद्धमा गोरखालीको जित भयो । गोर्खालीहरूले जितको हर्षबढाइँ मनाउँदै शत्रुपक्षको बेइज्जत गरेका थिए । शत्रुपक्षको बेइज्जत गर्न बिसे नगर्चीको धोती टाँगेर लमजुङका सेना अफिसरहरूलाई त्यहाँबाट छिर्न लगाएका थिए । यसबारेमा भाषा वंशावलीमा यस्तो लेखिएको छ (पूर्णिमा पूर्णांक ६:४६ र ४७) लमजुग्या सर्दार महिधरसमेतलाई बिस्या नगार्चीको धोती लगी सर्दार बलभञ्जनबाहेक अरू सबैलाई छिराया । 
 
शाके १६७७ (विक्रम सम्बत् १८१२) श्रावणका १४ दिन जाँदा शनैश्चरबार घडी १८ मा सिरानचोक जित भयो । सिरानाचोक थामी चौबिसी हटाया । पश्चिम थेग्लाया ।
 
यस्तै ‘नेपाल देशको इतिहास संग्रह'मा (प्राचीन नेपाल संख्या २२:४) यसबारे यस्तो लेखिएको छ, यस लडाइँमा सल्यानी अम्बर पाँडे, बले द्वारे प्रभृति धेरै बीर खति भए । जित गोरखालीको भयो र सरदर दलभञ्जनबाहेक लमजुङको महिधरसमेत अरु सबै चौबिसीलाई बिसे नगर्चीको धोती टाँगी धोतीमनि छिराए ।
 
राज्यविस्तार अभियानअन्तरगत चौबिसी सिरानचोकको जित पृथ्वीनारायण शाहको महत्त्वपूर्ण उपलब्धि थियो । यो उनको तेस्रो जित थियो । यसअघि उनले नुवाकोट र नालदुमलाई गोरखा अधिनस्थ गरिसकेका थिए । इतिहासका स्रोतहरूमा नुवाकोट र सिरानचोकजस्ता प्रारम्भकालीन युद्धमा बिसे नगर्चीको सहभागिता देखिन्छ । यसबाट पनि बिसे नगर्ची एक ऐतिहासिक व्यक्तित्व हुन् भन्ने स्पष्ट हुन्छ ।

- See more at: http://www.annapurnapost.com/News.aspx/story/48957#sthash.dEuV9XoK.dpuf

Comments

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

गहुँगोरो अफ्रिका (कविता) - आहुति