बाली प्रणालीमा १० प्रतिशतले पनि काम नगर्ने नेपालमा कहाँ छ सामन्तवाद ? - आहुति

नेपालमा समाजवाद किन र कसरी ?
यससम्बन्धी अन्तर्क्रियामा रमेश सुनुवारले पेस गरेको
कार्यपत्रमा केही विश्लेषकले टिप्पणी गरेका थिए ।
केशव दाहाल र देवेन्द्र पौडेलको मतपछि 
यहाँ प्रस्तुत छ आहुतिको विचार 
नेपाली कम्युनिस्ट आन्दोलनमा समाजवाद वा नयाँ जनवादबारे वा मार्क्सवादबारे जे बहस भइरहेको छ, प्रवृत्तिगत रुपमा ती सबै यहाँ प्रकट भए । प्रकट हुनेवाला पनि छ । करिब करिब हामी यसैको वरिपरि छलफलमा छौं । र, यहीँबाट छिचोल्नु पर्छ ।
सर्वप्रथम केशव दाहालले बोल्नुभयो र वर्गबारे प्रश्न उठाई दिनुभयो । र, मार्क्सवादका मुख्य आधारभूत कुरामाथि प्रश्न उठाउनुभयो । उहाँसँग नेपालका कम्युनिस्ट क्रान्तिकारीहरुले एउटा ठूलो बहस गर्न जरुरी छ । केशवजीहरुसँगको टुङ्गोफानो गर्नुपर्छ । यो मैले कुनै नकारात्मक टिप्पणीको रुपमा गरिरहेको छैन ।
मानिसलाई चाहिँ मार्क्सवादले वर्गको आधारमा पूरै यन्त्रवत रुपमा सोच्यो, मनसहितको मानिसलाई त्यसरी सोच्न मिल्छ भन्ने उहाँको प्रश्नको मार्क्सवादी ढंगले जवाफ दिनैपर्छ । किनकि मार्क्सवादले भनेको छ, पुँजीवादीहरु भनेको वा धार्मिकहरु भनेको हृदयहीनहरुको हृदय हो । मार्क्सवादले पनि ह्दयकै कुरा गरको हो । उहाँहरुले हृदयमाथि प्रश्न उठाउनुभयो । यसको छिनोफानो गर्नैपर्छ ।
दोस्रोमा देवेन्द्र पौडेलले बोल्नुभयो । मार्क्सवादबारे उहाँहरुसँग पनि नेपालमा एउटा ठूलो बहस छ, अब भइसक्यो । उहाँहरुले हामीले मार्क्सवाद छाडेका छैनौं, छलफल मात्र गरेका हौं भने पनि अहिले जे भनिरहनुभएको छ, त्यसले छलफलको माग गरिसक्यो । उहाँहरुले अर्थशास्त्रीको रुपमा रामशरण महतका एक सहयोगी रामेश्वर खनाललाई आफ्ना साथीहरुबीच अर्थशास्त्रीका रुपमा प्रस्तुत गर्दै हुनुहुन्छ । यता धेरै ठाउँका प्रशिक्षणमा साम्यवादको अन्त्य भयो भन्नुभएको छ । त्यसैले उहाँहरुसँग पनि बहस बन्छ, बनाउनै पर्छ ।
मलाई के लाग्न थालेको छ भने संसारमा धेरै ठाउँमा झिंगा मार्ने भनेर औषधी छर्किने काम भयो । झिँगाका बाबुआमा त मरे, तर अण्डाभित्र बसेको लार्भाले त्यो विष पचाइदियो । त्यही लार्भा अहिले आफ्नो वंश लिएर संसारभर उपस्थित छ । मैले के भन्न खोजेको भने कम्युनिस्ट क्रान्तिकारी वा मार्क्सवादीहरुमाथि धेरै ठाउँमा विष त छर्किने काम त भएकै छ, हुँदै आयो । विषले हाम्रा बाबुआमाहरुजस्ता अग्रज त मर्नेछन्, तर हामीले त्यो लार्भाभित्र बसेको झिंगाको सन्तानजस्तै त्यो विष पचाएर फेरि अगाडि आउनु छ ।
सामन्तवाद हुनको लागि त मुख्य जमिन सामन्तहरुको हातमा हुनुपर्‍यो । मेरो अध्ययनमा नेपालमा व्यक्तिका रुपमा सामन्त नै छैन । हामी जसलाई सामन्त भनिरहेका छौं, त्यो सामन्त नै होइन ।
नेपालमा अहिले हामी त्यही चरणमा छौं । त्यो चरणको लागि यो बहस हुनै पर्छ । हामीले सम्झनुपर्छ, झिंगाको सन्तानलाई नष्ट नगरी हुन्छ भन्ने हामीलाई लागेको छैन । यो कार्यपत्र पढ्दा मैले मलाई त्यही लार्भा हुँ भन्ने आधारमा पढें ।
अब म कार्यपत्रबारे बुँदामा जान्छु । पहिलो कुरा, यो कार्यपत्र चार जात छत्तिस वर्णको कुरा, आदर्श नारी सीता र भृकुटीलाई मान्ने कुरा र दर्शनशास्त्रीको रुपमा नेपालमा जनकलाई मान्ने कुरासँग म सहमत छैन । यो बिलकुल पञ्चायतले निर्माण गरेको अवधारणा हो । हामीसँग कपिलजस्ता भौतिकवादी दार्शनिक हुँदाहुँदै त्यो ब्रम्हसभा बनाउने जनक कसरी प्रतीक हुन्छ ? हामीसँग रुख चढेर दाउरा काट्ने तामाङ महिला हुँदाहुँदै, सम्बन्धविच्छेद गर्ने पूर्ण अधिकार भएका किराती महिला हुँदाहुँदै सीता र भृकुटी नेपालीको महिलाको प्रतीक कसरी हुन्छ ? यो कुरा म बुझ्दिन । र, चार जात छत्तीस वर्णलाई स्वीकृति दिनुहुँदैन । त्यो तथ्याङ्कले पनि मिल्दैन र त्यसको अवधारणाले पनि मिल्दैन ।
अर्को कुरा, नेपालमा आर्य र मंगोल मात्र छ भनिएको छ त्यसो होइन, यहाँ आग्नेय परिवारका मानिसहरु पनि छन् । द्रविड मूलका पनि छन् । यता नेपालमा कविला युगबाट शुरु भयो भनिएको छ, त्यसमा म सहमत छैन । मुन्दुम लिएर आउनेहरु पनि पूरै दर्शनशास्त्रसहित नेपाल आएका थिए । वेद लिएर आउनेहरु पनि त्यसैगरी आएका हुन् । मस्टो पूजकहरु पनि आफ्नो पूर्ण विश्व दृष्टिकोणसहित आएका हुन् । मुश्लिमहरु त धेरैपछि आएका हुनाले भई उनीहरुको दर्शन भइहाल्यो । द्रविडहरु पनि त्यसैगरी आएका हुन् । उनीहरु मूल आफ्नो सत्तासहित वा सत्ता लिएर नै आएका हुन् । त्यसैले नेपाली समाजको विकासबारे कार्यपत्रमा जे व्याख्या गरिएको छ, त्यो पनि पुनर्विचार गरिनुपर्छ ।
तेस्रो कुरा, कार्यपत्रमा उत्पादक शक्तिको रुपमा विज्ञान प्रविधिको विकास भनिएको छ । योचाहिँ कस्तो लाग्ने रहेछ भने हरेक नवविवाहित जोडीलाई विवाहपछिको केही समय रोमाञ्चक लाग्ने रहेछ । र, उसले के ठान्ने रहेछ भने योभन्दा पहिले मान्छेहरुलाई यस्तो थाहा थिएन, तर कुरा त्यसो होइन । मानिसहरु हजारौं वर्षदेखि त्यो प्रक्रिया चलिरहेको छ । त्यस्तै हरेक युगका मान्छेलाई के लाग्ने रहेछ भने आफ्नो समयमा भएको विकासचाहिँ अदभूत हो । सबभन्दा पहिले आगो फेला पार्ने मान्छेलाई लाग्यो, यो अद्भूत हो । यो मेरो जीवनमा अदुभूत क्रान्ति भयो भन्ने लाग्यो । तर आगोभन्दा पछि धेरै कुरा आविष्कार हुनेवाला छ भन्ने उसलाई थाहा थिएन । कुरा त्यति मात्र हो ।
मार्क्सवादले तीन वटा कुरालाई उत्पादक शक्ति भनेकोे हो । पहिलो, औजारलाई भनेको हो । दोस्रो, उत्पादनका साधनलाई भनेको हो । त्यो जमिन होला, उद्योग होला । तेस्रो, मानिसलाई भनेको हो । र, किटान गरेर मार्क्सवादले भनेको के हो भने औजारचाहिँ आधारभूत हो । मानिस प्रमुख हो । औजार त्यतिबेलाको स्वयं विज्ञान प्रविधि हो । अहिलेको विज्ञान प्रविधि भनेको औजार नै हो । त्यसैले अहिले आविष्कार भएको विज्ञान प्रविधिचाहिँ मार्क्सवादले भनेको विज्ञान प्रविधिभन्दा बिलकुल फरक हो भन्ने होइन । एंगेल्सको व्याख्या पनि त्यही छ । उनले भनेका छन्, साम्यवाद त्यतिबेला हुन्छ जब उत्पादनमा प्रचुरता हुन्छ । प्रचुरताको अर्थ कस्तो हो भने मानिसहरुले त्यसलाई निजी बनाएर वा जम्मा गरेर भोलि मेरो पुस्ताका लागि के होला भनेर आत्तिनु पर्ने हुँदैन । त्यति प्रचुर हुन्छ ।
हो, हाम्रो देश अर्धउपनिवेश वा नवउपनिवेशका अवस्थामा छ । कार्यपत्रमा सत्तामा गएपछि तालाचाबी अर्कैसँग भएको हुनाले अर्थसामन्ती भनिएको छ, त्यसो होइन । हो, तालाचाबी अर्कैसँग हुने गरेको छ, तर त्यसो भन्नुको अर्थ तालाचाबी सामन्तहरुको हातमा हुन्छ नभएको हो र ? होइन ।
त्यसकारण औजारको विकासबिना वा अहिलेको भाषामा विज्ञान प्रविधिको विकासबिना त त्यो सम्भव नै छैन । त्यो त लेनिनले किटान गरेर भनेका छन् । अहिले भएको विज्ञानको विकास मार्क्सवादीहरुको लागि तनावको कुरा होइन, यो त खुसीको कुरा हो । मार्क्स, एंगेल्स, लेनिन सबैले भनेको व्याख्या राम्ररी केलाउने हो भने यति धेरै र उत्कृष्ट स्तरको विज्ञान प्रविधिको विकास नभई त साम्यवादमा जानै सकिँदैन । आदिम साम्यवाद भनेको त्यस्तो अवसथ थियो, जो कंगाल थियो, खोज्दाखोज्दै जीवन जाने, बचत नै नहुने अनि कहाँ निजी सम्पति होस् !
अब अहिले हामी वैज्ञानिक साम्यवादमा जानु छ, जहाँ यति प्रचुरता हुन्छ कि लुटेर राख्नुपर्ने आवश्यक्तै हुँदैन । त्यसको निम्ति उत्पादक शक्तिको विकासबिना वा विज्ञान प्रविधिको विकासबिना त्यो सम्भव नै छैन । त्यसैले यी सब औजार हुन् जसलाई मार्क्सवादले राम्रोसँग ‘सिन्थेसिस’ गरेको हो । यसैमा त मार्क्सवादको धेरै सुन्दर चिज थियो । तर अहिले हामीले यसलाई जुन नयाँ ढंगले विज्ञान प्रविधि अति नयाँ चिज आयो भनेर प्रस्तुत गर्न खोजिरहेका छौं, त्योचाहिँ मार्क्सवादको आधारभूत विषयतिर अलि ध्यान नपुगेको हो कि भन्ने बुझ्नुपर्छ ।
अब यहाँ आयो, औजार । औजार निर्णायक हुनै सक्दैन । मार्क्सवादले त्यत्तिकै मानिसलाई निर्णायक भनेको होइन । मानिस एउटा पदार्थको रुप त हो, तर अहिलेसम्म अघि केशवजीले भनेझैं मन र विचारसहितको पदार्थ हो । त्यसकारण मानिस निर्णायक हो, औजार होइन । औजार निर्णायक भयो भने मानिसको समाज नै रहँदैन ।
कार्यपत्रले राष्ट्रिय पुँजीपतिको अन्त्य भयो भनेर भन्दछ, राष्ट्रिय पुँजीपति वर्ग हरेक प्रकारले दलाल पुँजीपतिसँग गाँसिदै गयो, त्यो त ठीक हो । तर राष्ट्रिय पुँजीको अन्त्य भयो भन्नेबारे बहस जरुरी छ । उहाँले बहुराष्ट्रिय कम्पनी र पराराष्ट्रिय कम्पनीहरुको कुरा गर्नुभएको छ । पराराष्ट्रिय भनेको दुई देशबीच भन्नुभएको होला । त्यो सबै सेयरमा परिवर्तन भइसक्यो भन्नुभएको छ । तर यस्तो कम्पनीमा सेयर नभएका पुँजीपतिहरुको पनि ठूलै जमात छ नेपालमा । त्यसैले यो बारेमा छलफल गर्नुपर्छ ।
अब समाजवादका सबै मोडल समाप्त भए भनेर १९१७ देखि १९९१ सम्मलाई एउटै डालोमा हाल्ने काम भएको छ, जुन गलत छ । सन् १९१७ मा क्रान्तिपछि लेनिनले अघि सारेको सोभियत मोडेल हो । यो कार्यपत्रले समाजवाद जनताबाट नियन्त्रित हुनुपर्छ भनेर जे भनेको छ, त्यो लेनिनको सोभियतबाट प्रभावित छ । लेनिनले सोभियतहरु कार्यकारी हुने, श्रमजीवी वर्गका सोभियतहरु हुने, ती सोभियत चुनिएर आउने र तिनले सत्तामा भागिदारी गर्ने एवं नियन्त्रण पनि गर्ने भन्नुभएको हो । कार्यपत्रले भनेको मोडेल सोभियतभित्र छ । त्यसैले यसबारे एक पटक पूरै अध्ययन गर्नुपर्छ ।
लेनिनको अन्त्यपछि त्यहाँ युद्ध समाजवाद शुरु भयो । दोस्रो विश्वयुद्ध थोपरियो । स्तालिनले सोभियत संघमा वर्गहरुको अन्त्य भयो भने । दमनको प्रक्रिया शुरु भयो । र, सोभियत कार्यकारी हुन पाएन । त्यसैले सबैलाई एउटै डालोमा हाल्नु हुँदैन ।
बहुदलीय जनवादको सार कुरा बहुदलीय व्यवस्थामा समाहित हुने कुरा हो । यो कुरा एमालेको यात्राले देखाइसकेको छ । उहाँहरुले लागू गर्दै आउनुभएको हो । यसैले सबै प्रयास जनवादका लागि थियो भन्दै आएर एमालेको असफलतालाई पनि कम्युनिस्ट क्रान्तिकारीहरुको असफलता थियो भन्न त मिल्दैन ।
उहाँले बहुदलीय जनवादलाई पनि नयाँ जनवादी क्रान्ति गर्न ल्याइएको थियो भन्नुभएको छ, त्यस्तो होइन । उहाँहरुले नयाँ जनवादी लाइन २०४८ सालमा छाड्नुभएको हो । बहुदलीय जनवादबारे छलफल हुनसक्दछ । तर बहुदलीय जनवादको सार कुरा बहुदलीय व्यवस्थामा समाहित हुने कुरा हो । यो कुरा एमालेको यात्राले देखाइसकेको छ । उहाँहरुले लागू गर्दै आउनुभएको हो । यसैले सबै प्रयास जनवादका लागि थियो भन्दै आएर एमालेको असफलतालाई पनि कम्युनिस्ट क्रान्तिकारीहरुको असफलता थियो भन्न त मिल्दैन ।
जहाँसम्म नेपाली समाज अर्धसामन्ती वा सामन्ती हो कि होइन भन्ने प्रश्न छ । सामन्तवाद भनेको कुनै पनि राज्यव्यवस्थालाई भनेको होइन । सामन्तवाद भनेको समाजव्यवस्था हो । मूलतः त्यो समाजव्यवस्थामा राज्यव्यवस्था पनि सामन्तवादी नै हुन्छ । सामन्ती हो कि होइन भनेर व्याख्या गर्न उत्पादन सम्बन्धबारे हेर्नुपर्छ । मार्क्सवादले हामीलाई त्यही सिकाएको हो ।
मार्क्सवादले उत्पादनका सम्बन्धहरु भनेर मुख्यत तीन वटा कुरा भनेको हो । एक, सम्पत्तिमा वा कुनै पनि उत्पादनका साधनमाथिको स्वामित्व कसको छ ? दोस्रो, त्यो स्वामित्वबाट उत्पादन भएको चिज वितरण कसरी हुन्छ ? र तेस्रो, त्यो वितरणको तरिकाले र स्वामित्वको कारणले गर्दा मानिसहरुबीचमा सम्बन्ध कस्तो छ ? यही तीनवटा कुरा न हो उत्पादन सम्बन्ध भनेको हो ।
अहिले नेपालमा सामन्ती उत्पादन प्रणाली छ भनेर त्यतिकै भनेर त भएन नि, तथ्यहरुले पनि भन्नुपर्‍यो । नेपालमा दर्ता भएका र नभएका मोहीहरुको संख्या तीन लाखभन्दा बढी छैन । जबकि नेपालमा ५५ लाखभन्दा बढी परिवार छ । जुन देशमा यति धेरै मानिस छन्, त्यहाँ मात्र तीन लाख मोही छन् । अनि हामी भनिरहेका छौं, यहाँ सामन्तवादी उत्पादन प्रणाली छ । नेपालमा बालीप्रथामा काम गर्नेहरुमा अब मात्र दलितहरु बाँकी छन्, जो दलितहरुमा ३५ प्रतिशतभन्दा बढी छैनन् । जुन देशमा  गर्दैन, त्यो देश सामन्ती कसरी हुन्छ ?
त्यसैले, सामन्तवादी छ कि छैन भनेर हेर्न उत्पादन सम्बन्ध कस्तो छ भनेर हेर्नुपर्ने हुन्छ । सानो वा निर्वाहमुखी अर्थतन्त्र हुने बित्तिकै त्यो सामन्तवादी छ भन्ने हो भने बर्बाद भइहाल्छ, निर्वाहमुखी अर्थतन्त्र पुँजीवादी पनि हुन्छ । निर्वाहमुखी अर्थतन्त्रले कसैलाई शोषण गर्दैन । सामन्तवाद भनेको त सामन्तहरुले जमिनमा भएको सामन्ती उत्पादन सम्बन्धमार्फत किसानहरुलाई शोषण गर्ने भनेको हो । जम्मा दुई रोपनी खेत, पाँच रोपनी बारी, एउटा मल थुपार्ने भाँडो, एउटा बाख्रा एउटा भैंसी पाल्ने मान्छेले कसलाई शोषण गर्छ ? अनि त्यो सामन्तवादी उत्पादन सम्बन्ध हो ? होइन ।
सामन्तवाद हुनको लागि त मुख्य जमिन सामन्तहरुको हातमा हुनुपर्‍यो । मेरो अध्ययनमा नेपालमा व्यक्तिका रुपमा सामन्त नै छैन । हामी जसलाई सामन्त भनिरहेका छौं, त्यो सामन्त नै होइन । अब सामन्तवाद कहाँ छ भने गुठी वा मन्दिरको नाममा रहेका केही जमिनमा छ । अरुको पुस्तौनी रुपमा अलि धेरै जमिन भएका छन्, तिनीहरुका मोही छन् तर ती पनि सामन्त होइनन् । दश बिघा जमिन भएका मानिसले पाँच लाख कमाउँदैन, माविको शिक्षकले पाँच लाख कमाउँछ । अनि को सामन्त ?
हो, हाम्रो देश अर्धउपनिवेश वा नवउपनिवेशका अवस्थामा छ । कार्यपत्रमा सत्तामा गएपछि तालाचाबी अर्कैसँग भएको हुनाले अर्थसामन्ती भनिएको छ, त्यसो होइन । हो, तालाचाबी अर्कैसँग हुने गरेको छ, तर त्यसो भन्नुको अर्थ तालाचाबी सामन्तहरुको हातमा हुन्छ नभएको हो र ? होइन । दलाल र विदेशीहरुको हातमा हुन्छ भनेको हो । विदेशी भन्ने बित्तिकै सामन्त हुन्छ भन्ने होइन, दलाल पुँजीपति भनेको त पुँजीपति भइहाल्यो ।
यसैले नेपालमा दलाल पुँजी छ, त्यो सत्य हो । नवउपनिवेश छ, त्यो सत्य हो । तर त्यो सामन्त होइन । यस अर्थमा नेपाली समाज अहिले आधारभूत रुपमा पुँजीवादी नै हो । यो हाम्रै प्रकारको पुँजीवाद हो । बरु यहाँको पुँजीवादको विकासबारे नयाँ अध्ययन जरुरी देखिन्छ । यसका रहलपहलमा छलफल गर्नुपर्छ । त्यसैले यो बहस नगरीकन समाजवादमा जाने कुरा गर्न मिल्दैन । सामन्तवाद भए समाजवादमा जाने कुरा आउँदैन, बरु पुँजीवादमै जाने कुरा आउँछ ।
http://esamata.com/np/2016/%E0%A4%AC%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A3%E0%A4%BE%E0%A4%B2%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A5%A7%E0%A5%A6-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B6/

Comments

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

गहुँगोरो अफ्रिका (कविता) - आहुति