लडाई (कविता)

लडाई
(कविता)
- जेबी विश्वकर्मा

तिम्रो महान संस्कारको
भारीले थिचिएर
तिम्रो कथित प्रतिष्ठामाथि धावा बोल्दै
जन्मिएको एउटा योध्दा
यतिवेला,
रणभूमिमा हाजिर छ ।

अपूर्ण छ जीवन, सायद लडाईबिना
त्यसैले, लडाईहरूको चौबाटोमा
ठिङ्ग उभिएर
अर्को लडाईको कठोर निर्णय गर्न विवश छ
तिम्रो आह्वानलाई सलाम गर्दै !
यतिवेला  ऊ,
रणभूमिमा हाजिर छ ।

नचाहेको खानु
नचाहेको गर्नु
वा, नचाहेरै लड्नुको पीडा
नमीठो हुन्छ, सायद
तर,
रणभूमिमा धकेलिएपछि
ऊसंग लड्नुको विकल्प छैन
त्यसैले ऊ सम्पूर्ण तयारीसहित
यतिबेला
रणभूमिमा हाजिर छ ।

ऊ राजी छ,
जीवनमा अर्को जिहादी लडाईका लागि
उसले नलडेको बाटो
रगत र पसिनाले नसिञ्चिएको माटो
सायदै होला यात्राहरूमा
तर, यतिबेला
अलि भिन्नै लडाई लड्दैछ ऊ
एउटा अलि अप्ठ्यारो लडाई
नलडी नहुने लडाई
त्यहि लडाईका लागि
यतिबेला ऊ
रणभूमिमा हाजिर छ ।

नक्कली शासन व्यवस्थासंग
नक्कली संसारसंग
नक्कली संस्कारसंग लड्दै आएको ऊ
यतिबेला,
नक्कली सम्बन्धहरूसंग लड्दैछ
आत्मीयता नभएको आत्माहरूसंग
प्राण नभएको मानव प्राणीहरूसंग
रगतले छुट्न नदिएको
तर, आत्मले आफन्त हुने नसकेका
केहि नक्कली आफन्तसंग
एउटा कठोर लडाईको लागि
यतिवेला ऊ,
रणभूमिमा हाजिर छ ।

नजिती नहुने एउटा
बाध्यताको लडाईका लागि
ऊ रणमैदानमा हाजिर छ
किन कि,
यो नक्कली आफन्तहरूसंगको
सक्कली लडाई हो ।

१ मङ्सिर २०७१ 

Comments

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

गहुँगोरो अफ्रिका (कविता) - आहुति