तरबार (कविता)

तरबार
(कविता)

- जेबी विश्वकर्मा

अस्ति
कामै छैन भनी
अपमानले जस्केलाबाट फालेको
एक टुक्रो फलाम
रंग, आकार सबै हराएर
खियाले भरिएको
एउटा फलामको छेस्को
अहिले तिमीलाई नै खबरदारी गर्न
तिम्रो अगाडि
तरबार भएर हाजिर छ

तिमीले फाल्यौ
र, फलाम
मायावी अंगालोमा बेरिएर
आरनसम्म पुग्यो
जहाँ, कामी दाईले
आरनको भट्टीमा पसाएर
आगोसंग खेल्न सिकाए
प्रहार गरेर घन
प्रतिरोधका लागि तयार बनाए
त्यसैले त फलाम
तरबारकै सक्कली पहिचानसहित
तिम्रो अगाडि उभिएको छ

तिम्रो गोलीले नढल्ने
चन्द्रागिरी पहाडजस्तै
तिम्रा काला षड्यन्त्रसंग
पौंठेजोरी खेल्न
यो तरबार
तिम्रो सामुन्ने ठिङ्ग उभिएको छ

हिजो दास सम्झने पन्च
गोठालो सम्झिने मालिक
निरीह सम्झने समाज
होच्याउदै बोलाउने शिक्षक
भरिया बनाउने साहू
सप्पै सप्पैको अगाडि तरबार
ठिङ्ग उभिएको छ
किन कि यो
वास्तविक पहिचान बोकेको
र, आरनको भट्टीबाट निस्किएको
असली फलामे तरबार हो

तिमीले छलछामको दस्तावेज लेखिरहंदा
तिमीले अलमलको विद्या सुनाईरहंदा
अनि
तरबारले अवसान गरेको बिरासतमा उभिएर
तिमीले मुलुकको एउटा नयाँ चित्र कोरिरहंदा
यो तरबार
किनारको साक्षी मात्रै हुने सक्दैन
तिम्रो चित्रमा तरबारको सक्लो आकृति
प्रस्ट देखिने टुंगो नलाग्दासम्म
तिम्रो समीप
यो तरबार नउभी रहनै सक्दैन

किन कि
यतिबेला
उसले आफ्नो पहिचान खोजेको छ
अस्तित्व र आत्मसम्मान खोजेको छ
त्यसैले यो तरबार भन्छ
तिमीसंग यो आँखा जुधाई रहन्छु
किन कि
तिमीले इतिहासमा बेइमानी गरेका छौ
तिमीले मेरो भूगोल बिर्सिसकेका छौ
तिमीले मेरो पहिचान बिर्सिसकेका छौ
मलाई नचिनेसम्म
मलाई नबुझेसम्म
मेरो धारिलो आवरण झुक्ने छैन
किन कि
मेरो पहिचान नै तरबार हो

९ मङ्सिर २०७१ 

Comments

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

गहुँगोरो अफ्रिका (कविता) - आहुति