'ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएको फुटेज घुइँघुइँती खोज्‍दा पनि भेटिएन'

'ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएको फुटेज घुइँघुइँती खोज्‍दा पनि भेटिएन'

अन्‍नपूर्ण |२०७१ कार्तिक ११ मंगलवार
 345
 12
 
ललितपुर : चलचित्रकर्मी नवीन सुब्बालाई आफ्नो चलचित्रका लागि तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते शासनसत्ता हातमा लिएको घोषणा गरेको फुटेज चाहिएको थियो। उनले धुइँधुइँती खोजे तर पाएनन्। 
 
'आजभन्दा १० वर्षअघिको घटनाको समेत श्रव्यदृश्य नपाउनु दु:खको कुरा हो', सोमबार उनी पाटनढोकास्थित यलमाया केन्द्रमा यस्तो चिन्ता व्यक्त गर्दै थिए। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले 'अन्तर्राष्ट्रिय श्रव्यदृश्य सम्पदा दिवस'का अवसरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्। 
 
'श्रव्यदृश्य अभिलेखको महत्त्व कति छ भन्ने कुरा हामीले बुझ्न सकेनौं', उनी भन्दै थिए, 'यहाँ त चलचित्रकर्मीले पनि आफ्नो चलचित्रको अभिलेख व्यवस्थित गर्न सकेको देखिएन।' उनकै भनाइमा चलचित्रजस्तो महत्त्वपूर्ण श्रव्यदृश्य सामग्री बजारमा जान्छ, बजारले चाहे त्यो राख्छ, नचाहे राख्दैन। 
 
उनले भने, '२०२२ सालमा बनेको पहिलो नेपाली चलचित्र 'आमा'को अभिलेख खोजियो भने त्यो पनि भेटिँदैन। यसैले स्पष्ट पार्छ, नेपालमा श्रव्यदृश्य अभिलेखको महत्त्व नबुझिएको स्पष्ट तस्बिर।' उनले केही भएका सामग्री पनि पुरानो शैलीमा राखिएको र नयाँ प्रविधि भित्र्याउन नसकिएको बताए। 
 
कार्यक्रममा उपस्थित सरकारी निकायका अधिकारीहरूले पनि श्रव्यदृश्य अभिलेख व्यवस्थित रूपमा सुरक्षित राख्न नसकिएको स्वीकारे। राष्ट्रिय अभिलेखालयका प्रमुख प्रकाश दर्नालले अभिलेखालयमा केही श्रव्यदृश्य अभिलेख भएको तर व्यवस्थित गर्न नसकिएको बताए। उनले भने, 'हामी व्यवस्थित बनाउने पहल गर्नेछौं।' 
 
सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव यदु पन्थीले मन्त्रालयमा पनि यस्तो अभिलेखको एउटा विभाग भएको तर व्यवस्थित गर्न नसकिएको स्वीकारे। कार्यक्रमका सहभागीहरूले श्रव्यदृश्य अभिलेख व्यवस्थित गर्न एउटा निकाय आवश्यक रहेको औंल्याएका थिए। 
 
युनेस्कोले सन् १९८० देखि नै श्रव्यदृश्य अभिलेखहरू व्यवस्थित हुनुपर्नेमा जोड दिँदै आएको छ। यस वर्षको नारा 'अभिलेख जोखिममा छ : धेरै गर्न बाँकी छ' राखिएको छ। युनेस्कोले नेपालको श्रव्यदृश्य अभिलेखबारे एक अध्ययन गरेको थियो। उसले नेपालमा यस्ता अभिलेख व्यवस्थित हुन नसकेको निष्कर्ष निकालेको थियो। 
- See more at: http://annapurnapost.com/News.aspx/story/1467#sthash.PmDooEtU.5KFaMk1E.dpufhttp://annapurnapost.com/News.aspx/story/1467

Comments

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

गहुँगोरो अफ्रिका (कविता) - आहुति