सुदूरपश्चिममा दलित महिला पत्रकारको संख्या न्यून

सुदूरपश्चिममा दलित महिला पत्रकारको संख्या न्यून


योगेश रावल कैलाली, भदौ २४ 


सुदूरपश्चिममा दलित महिला पत्रकारको संख्या ज्यादै न्यून छ । दलित महिला पत्रकार नभएकै कारण दलित महिलाका सवाल सञ्चार माध्यममा नसमेटिएको सरोकारवालाको गुनासो छ । नेपाल पत्रकार महासंघको तथ्याङ्क अनुसार सुदूरपश्चिमका नौ जिल्लामा सात जना मात्रै दलित महिलाले सदस्यता पाएका छन् । ती मध्ये सबैभन्दा बढी कञ्चनपुरमा ३ जना रहेका छन् । त्यस्तै कैलालीमा २ र अछाम र बझाङमा १÷१ जनाले मात्रै सदस्यता प्राप्त गरेका छन् । 

नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरेका मध्ये पनि केही पत्रकारिताबाट पलायन भैसकेका छन् । सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बाजुरा, दार्चुला र बैतडीबाट हालसम्म एक जना दलित महिलाले पनि महासंघको सदस्यता हासिल गरेका छैनन् ।  सुदूरपश्चिममा कार्यरत महिला र पुरुष गरी कुल ६ सय ६६ पत्रकार मध्ये दलित महिला पत्रकारको संख्या १ दशमलव शुन्य ५ प्रतिशत मात्रै रहेको छ । 

 केही दलित महिला पत्रकारहरु भने महासंघको सदस्यता प्राप्त नगरेका भएपनि पत्रकारितामा कार्यरत रहेका छन् ।  दलित महिला संघ कैलालीले सञ्चारकर्मीहरुसँग आयोजना गरेको कार्यक्रममा दलित महिलालाई पत्रकारितामा अभिप्रेरित गर्ने वातावरण बनाउनुपर्नेमा सबैले जोड दिएका छन् ।  सो अवसरमा सुदूरपश्चिममा दलित महिला पत्रकारको अवस्था र दलित महिलाको सवालमा सञ्चार माध्यमको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै सञ्चारकर्मी सीताराम ओझाले विभेदका कारण पत्रकारितामा दलित महिलाको संख्या बढ्न नसकेको उल्लेख गरेका छन् । 
उनले सञ्चार माध्यममा खाशगरी रेडियोमा दलित महिलाको सहभागीता भएपनि उनीहरु समाचार भन्दा पनि मनोरञ्जनात्मक कार्यक्रममा सकृय रहेको बताएका छन् । उनले आफ्नो कार्यपत्रमा दलित महिलाको प्रतिनिधित्व र सहभागीतालाई सञ्चारमाध्यमले वेवास्ता गरेको उल्लेख गरेका छन् । दलित महिला संघ कैलालीकी संयोजक पुनम सिजापतीले पनि सञ्चार माध्यमले वेवास्ता गरेकै कारण दलित महिला पत्रकारितामा आउन नसकेको गुनासो पोखेकी छन् । 
 उनले दलित महिलालाई प्रोत्साहन गर्ने वातावरण बनाउन सञ्चार माध्यमसँग आग्रह गरेकी छन् । उनको बुझाई पनि दलित महिला पत्रकार नभएकै कारण दलित महिलाका सवाल सञ्चार माध्यममा नसमेटिएको भन्ने छ । 

 ‘दलित महिला पत्रकार नभएकै कारण हाम्रा कुरा सञ्चार माध्यममा आएनन्’ उनले भनिन्–‘हामी चाहन्छौ । दलित महिलाको संख्या पनि बढोस् र हाम्रा कुरा पनि सञ्चार माध्यममा आउन ।’
 सञ्चार माध्यममा पहुँच नभएकै कारण विभिन्न पीडा, शोषण र अभावमा बाँचेका सुदूरपश्चिमका दलित महिलाका सवालले सञ्चार माध्यममा स्थान नपाएको दलित महिला अधिकारकर्मीहरुको बुझाई छ । 
 रेडियो धनगढीमा कार्यरत सञ्चारकर्मी निर्मला बिसीले आफूहरु दलित महिलाका सवाललाई सञ्चारमाध्यममा समेट्न प्रयत्नरत रहेको बताईन् । 

 उनले अन्य सञ्चारकर्मी र सञ्चारगृहको सहयोग भए दलित महिलाका सवालमा सशक्त रुपमा कलम चलाउन तयार रहेको बताईन । ‘म दलित महिलाका सवालमा लेख्ने र बोल्ने भनेरै पत्रकारितामा लागेकी छुँ’ उनले भनिन्–‘सबैको सहयोग भयो भने संख्या थोरै भएपनि धेरै कुरा समेट्न सकिन्छ ।’ उनले दलित महिला पत्रकारलाई निरुत्साहित गर्ने नभई प्रोत्साहित हुने खालको माहौल तयार गर्ने काम अन्य सञ्चारकर्मी र सञ्चारगृहको भएको बताईन । उनले भनिन्–‘म सबैसँग त्यो माहौलको अपेक्षा गर्दछु ।’
राष्ट्रिय जनगणना २०६८ अनुसार सुदूरपश्चिममा दलित महिलाको संख्या २ लाख ५० हजार १ सय ५७ रहेको छ । सुदूरपश्चिमको कुल जनसंख्या २५ लाख ५२ हजार ५ सय १७ मध्ये १८ दशमलव २८ प्रतिशत जनसंख्या रहेको दलित समुदायमा दलित महिलाको संख्या ९ दशमलव ८० प्रतिशत रहेको छ । 

Comments

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

गहुँगोरो अफ्रिका (कविता) - आहुति