सुभाष दर्नालः अब केबाल सम्झनामा

This is my Newly published article on Naya Patrika National Daily.

सुभाष दर्नालः अब केबाल सम्झनामा
- जेबी विश्वकर्मा
युवा पुस्ताको नेतृत्व स्थापित गर्नुपर्छ भन्ने महत्वाकांक्षाका कारण पनि यो अवधिमा उनको टिमले गरेको भूमिकाकै प्रतिफल हो सुभाष दर्नालको सफलता । यसका साथै उनमा भएका केही विशिष्ट गुण उनको सफलताको अर्को कारण हो ।

मृत्यु अनिवार्य सत्य हो । यद्यपि कतिपय मृत्युले परिवारसँग मात्रै सम्बन्ध राख्छ भने कतिपयले समाज र राष्ट्रसँग पनि । थोरै मानिसलाई मात्रै मृत्युपछि राष्ट्रिय सम्मान प्राप्त हुन्छ । सायद, उनीहरूले राष्ट्र र समाजका लागि गरेको योगदानको कदर त्यही नै हो । नेपालको मानवअधिकार तथा दलित अधिकार अभियानले गत साउन ३० गते एकजना युवा अधिकारकर्मी गुमायो । आफ्नो युवा उमेर र शक्तिलाई मानवअधिकार, दलित अधिकारकै लागि समर्पित गरिरहेका सुभाष दर्नालको अमेरिकामा सवारी दुर्घटनामा परी भएको असामयिक मृत्युका कारण नेपाली दलित आन्दोलनले एउटा सशक्त योद्धा गुमाएको छ त कतिपयले सहकर्मी ।
परिस्थितिले व्यक्तिका बाटाहरू निर्माण गरिदिन्छ । उनलाई पनि बाल्यकालमा समाजमा गरिएको जातीय विभेद, छुवाछूत, शोषण आदिले नै अधिकारप्रति जागरुक गरायो र युवा जोस र शक्तिलाई अधिकार प्राप्तिकै आन्दोलनमा समर्पित गर्न प्रेरित गर्‍यो । यही यात्राका क्रममा उनले नेपाली दतिल र मिडिया आन्दोलनका क्षेत्रमा र पछिल्ला दिनमा दलित र प्राज्ञिक क्षेत्रमा उनले हात हाले । जुन कुरा वर्तमानको माग थियो । यसबाट पनि अनुमान गर्न सकिन्छ कि उनी समयअनुरूप चल्न रुचाउँथे ।
नेतृत्व परिस्थितिले जन्माउँछ । नागरिक समाजका क्षेत्रबाट दलित आन्दोलनले खास गति लिन नसकिरहेको अवस्थामा युवाहरूको सशक्त हस्तक्षेप जरुरी थियो । त्यही हस्तक्षेपका लागि सशक्त युवाले जागरण मिडिया सेन्टर स्थापना गरे, जसको नेतृत्व अध्यक्षको रूपमा दुई कार्यकालसम्म सुभाषले गरे । आलोचनात्मक युवा टिम निर्माणका लागि जागरण मिडिया सेन्टरको सिंगो टिम लागेको थियो । साथै सल्लाहकार र शुभेच्छुकहरूको सद्भाव पनि प्राप्त भएको थियो । सुभाषमा रहेको महत्त्वकांक्षी सोच, आलोचनात्मक सोचाइ र त्यसलाई पुँजीकृत गर्नसक्ने उनको टिम सफलता पछाडिका कारण हुन् ।
सुभाषले जागरण मिडिया सेन्टर, शान्तिका लागि साझा अभियान -कोक्याप) र समता फाउन्डेसनमार्फत लोकतन्त्र, शान्ति र सामाजिक न्यायका लागि मूलभूत रूपमा तीनवटा काम गरे । एक, दलित समस्यालाई पत्रकारिताको माध्यमबाट सार्वजनिक बहसको विषय बनाउने र उनीहरूका समस्या समाधानका लागि राज्य तथा सरोकारवालाहरूलाई जिम्मेवार बनाउन भूमिका खेले । जागरण मिडिया सेन्टरको स्थापना, दलित पत्रकार उत्पादन तालिम, रेडियो कार्यक्रम उत्पादन/प्रसारण र दलित समुदायकै अगुवाइमा सामुदायिक रेडियो, रेडियो जागरणको स्थापना । यसले नेपाली मिडियाको विकासमा दलित मुद्दालाई जबर्जस्त स्थापित गर्नका लागि सघाउ पुर्‍याएको छ । अर्को कुरा, उनकै नेतृत्वकालमा जागरण मिडिया सेन्टरले टेलिशृंखला दलनको निर्माण गर्‍यो । यो आफैंमा निकै महत्त्वाकांक्षी र ऐतिहासिक काम थियो । दुई, उनले सिंगो लोकतान्त्रिक आन्दोलनमा आफूलाई समाहित गरे । द्वन्द्वकालमा बाग्लुङको बुंगा दोभानमा विस्थापित भएका दलित परिवारको पुनस्र्थापना गर्ने काममा होस् वा ०६२/६३ को जनआन्दोलनको वेला कोक्यापमार्फत मानवअधिकारकर्मीहरूको परिचालन । केवल दलित अधिकारका लागि मात्रै नभई सिंगो मानवअधिकार आन्दोलनमा उनको भूमिका महत्त्वपूर्ण रह्यो । तीन, उनले नेपाली दलित सवाललाई प्राज्ञिक बहसको विषय बनाउनका लागि केही प्रयत्नको थालनी गरे, समता फाउन्डेसनको स्थापना त्यसैको प्रतिफल हो । दलित सवालमा प्राज्ञिक बहस असाध्यै कम भइरहेको अवस्थामा यो थालनी निकै महत्त्वपूर्ण छ । उनीसँगको करिब आठ वर्ष सहकार्य गर्दाको अनुभूति हो यो ।
हामी जागरण मिडिया सेन्टरदेखि समता फाउन्डेसनको स्थापना र सञ्चालनसम्म हामी राम्रा सहकर्मीका रूपमा रह्यौँ । अब भौतिक यात्रा समाप्त भइसकेको छ वा सहयात्राको डोरी चुँडिएको छ । यही सहयात्राका बीचमा मैले उनीका केही विशेष अनुभूति संगालेको छु । हरेक मान्छेको सफलताका पछाडि कुनै न कुनै कारण निहित रहन्छ । सुभाषका यी सफलताका पछाडि पनि आत्मबल र साहस दिने विनोद पहाडी, पदम सुन्दास, केशबहादुर परियार र दलित संघसंगठन आदिको महत्त्वपूर्ण भूमिका थियो । यद्यपि विचार मन्थन गर्ने, नयाँ सोच र योजना निर्माणमा सहयात्रीको भूमिका कम महत्त्वपूर्ण रहेन, जसको विगत आठ वर्षदेखिको एउटा साक्षी म आफू पनि हुँ । युवा पुस्ताको नेतृत्व स्थापित गर्नुपर्छ भन्ने महत्त्वाकांक्षाका कारण पनि यो अवधिमा उनको टिमले गरेको भूमिकाकै प्रतिफल हो सुभाष दर्नालको सफलता । यसका साथै उनमा भएका केही विशिष्ट गुण उनको सफलताको अर्को कारण हो ।
हामीबीचको कुराकानीमा कहिलेकाहीँ चर्चा हुन्थ्यो, 'केही गुणहरू मिल्नेहरू मात्रै सँगै हुन्छन् ।' सायद उनी र मेरा केही मिल्ने गुण थिए । भर्खर पत्रकारिता गर्दागर्दै संस्थागत रूपमा लागेका सुभाष र मेरो सहयात्राको थालनी मूलतः लेखन कर्मबाटै भएको थियो । जागरण प्रवेशपूर्व नै मैले जागरणका लागि काठमाडौंमा दलितलाई हुने डेरा समस्याका विषयमा गरिएको सानो अनुसन्धानबाट सुरु भएको हो । त्यसपछि आरक्षणसम्बन्धी पुस्तक, दलित सभासद्को संवाददेखि समताका प्रकाशन तथा उनका कतिपय लेखहरू प्रकाशनमा समेत कतै न कतै मेरो भूमिका रहन्थ्यो । सायद, हामीबीचमा रहेको मिल्ने केमेस्ट्री त्यही नै थियो ।
यात्राका क्रममा मैले उनमा पाएको अर्को विशेषता भनेको उनी हरेक नयाँ विचार र विषयप्रति चासो राख्ने र फरक ढंगबाट छलफल गर्न रुचाउँथे । अभियान वा आन्दोलनलाई अल्टरनेटिभ ढंगबाट आलोचनात्मक रूपमा सोच्ने र आपसमा छलफल गर्ने बानी नै उनको अर्को विशिष्टता हो । साथै आफ्ना कुरा अरूलाई प्रस्टसँग राख्ने र अरूलाई विश्वस्त पार्न सक्ने क्षमता निकै प्रभावकारी थियो । जसकारण उनी आफ्नो सञ्जाल विस्तार गर्न निकै सफल हुन्थे । यो उनमा भएको विशिष्ट क्षमता हो । सुभाषसँग नयाँ-नयाँ सपनाबारे सोच्ने, अन्यत्र प्रयोगमा आएका राम्रा कुरालाई आत्मसात् गरिहाल्ने र प्रयोगमा ल्याउने चाहना उत्कट हुन्थ्यो । उनी जटिल कामलाई पनि सहज रूपमा गर्न सकिन्छ भन्ने कुरामा विश्वास राख्थे वा नयाँ प्रयोग गर्न हिम्मत गर्थे, त्यो उनको अर्को विशेषता हो ।
सिक्काका दुई पाटा भनेझैं हरेक मानिसका सबल र दुर्बल पक्ष दुवै हुन्छन् । दुर्बल पक्षलाई जित्न सक्नेहरू नै सफल हुन्छन् । उनले पनि आफ्ना दुर्बल पक्षलाई जित्ने प्रयास गरेका थिए । प|mान्सेली लेखक अनाटोल प|mान्सले भनेका छन्, 'ठूलो कुरा सम्पन्न गर्न हामीले काम मात्रै होइन, सपना देख्नुपर्छ । योजना मात्रै होइन, विश्वास पनि हुनुपर्छ ।' सुभाष दर्नालमा नयाँ कुराको सपना देख्ने क्षमता केही मात्रामा फरक थियो । कतिपय सपना हामीले सँगै देखेका थियौँ, कतिपय सँगै देखेका सपना पूरा गरेका पनि थियौँ । अब केवल सँगै हिँडेका बाटा, सँगै देखेका सपना बाँकी छन् । सँगै देखेका र कतिपय उनले देखेका राम्रा सपना बाँकी नै छन्, उनले देखेका राम्रा सपना अभियानले पूरा गर्नुपर्छ । योजनाबद्ध रूपमा काम गर्ने सुभाषसँग व्यक्तिगत र सामाजिक दुईवटा लक्ष्य थिए ।
एउटा, राजनीतिशास्त्रमा नेपालबाट स्नातकोत्तर पूरा गरी विश्वका ख्यातिप्राप्त विश्वविद्यालयबाट पिएचडी गर्ने र नेपालको सामाजिक बहिष्करणको मुद्दालाई प्राज्ञिक रूपमा व्यापक बहसमा लैजाने । अर्को, नेपालमा समावेशीकरणसम्बन्धी अध्ययनका लागि दलितको पहलमा विश्वविद्यालय खोल्ने । यसका साथै उनले आफूले गरेका कामबारे आफ्नै बायोग्राफी लेख्ने ठूलो धोको राखेका थिए । जुन अब कहिल्यै पूरा हुन सक्दैन । यद्यपि उनले गरेका राम्रा कामको निरन्तरता अबको दलित आन्दोलनमा आवश्यक छ ।

http://www.nayapatrika.com/multi-color/12697-%E0%A4%B8%E0%A5%81%E0%A4%AD%E0%A4%BE%E0%A4%B7-%E0%A4%A6%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A4%BE%E0%A4%B2%E0%A4%83-%E0%A4%85%E0%A4%AC-%E0%A4%95%E0%A5%87%E0%A4%AC%E0%A4%BE%E0%A4%B2-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%9D%E0%A4%A8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE.html

Comments

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

गहुँगोरो अफ्रिका (कविता) - आहुति