नमुना बन्ने प्रयत्न गर्नेछु बाबुराम भट्टराई, नवनिर्वाचित प्रधानमन्त्री


तपाईंका प्रमुख प्राथमिकता के-के हुन् ?

पहिलो प्राथमिकता विस्तृत शान्ति सम्झौताअन्तर्गत मुलुकलाई सार्थक निष्कर्षमा पुर्‍याउनु हो । त्यसका निम्ति कार्यतालिका बनाइसकेका छौं । राष्ट्रिय सहमति बनाएर यो अभिभारा पूरा गर्ने मेरो पहिलो प्राथमिकता हुन्छ । दोस्रो, ठूलो राजनीतिक कार्यभार संविधानसभाबाट अग्रगामी संघीय ढाँचासहितको संविधान बनाउने नै हो । त्यसका निम्ति राष्ट्रिय सहमति बनाउने काम हो । यी प्रमुख प्रथमिकता हुन् । तेस्रो भनेको जनता गरिबी, बेरोजगारी र महँगीबाट पीडित छन् । ती जनतालाई राहत दिन के गर्न सक्छांै, त्यसका लागि राहत प्रदान गर्ने हुन्छ । चौथो, राज्यसत्ता ढिलासुस्ती र भ्रष्टाचारबाट आक्रान्त छ । जनताले सेवा राम्रो नपाएको स्थिति छ, त्यसका लागि सुशासन दिने प्रयत्न हुन्छ । त्यसका लागि आफू नमुना बनेर देखाउने प्रयत्न हुन्छ । पाँचौं, समग्र आर्थिक विकास नगरेसम्म देशको विकास गर्न सक्दनौं । छोटो समयमा धेरै गर्न नसकिएला तर लगानी मैत्री वातावरण बनाएर अघि बढ्ने र रोजगारी सिर्जना गर्न आर्थिक विकासको प्रारूप तयार गर्ने काम पनि हुन्छ ।

तपाईं अप्ठ्यारो स्थितिमा प्रधानमन्त्री बन्नु भएको छ, कसरी यो अप्ठ्यारो यात्रामा सफलता पाउनु हुन्छ ?

यात्रा अप्ठ्यारो घुम्ती हुँदै गन्तव्यमा पुग्छ । सजिलो यात्राबाट मात्र गन्तव्यमा पुगिन्छ भन्ने होइन । शान्ति र संविधान मुख्य कार्यभार हो । बहुमतीय प्रणालीबाट सरकार बने पनि राजनीतिक मुद्दामा सहमतिबाट अघि बढ्छ । संविधान निर्माण दुई तिहाइ बहुमतबाटै अघि बढ्छ । त्यसका निम्ति सबै प्रमुख दलको सहभागिताबिना सम्भव छैन । राष्ट्रिय सहमति अनिवार्य छ । सरकारमा सहमति बनेन भन्दैमा शान्ति र संविधानमा राष्ट्रिय सहमति बन्दैन भन्ने हुँदैन । सबै प्रमुख दलका प्रमुख नेता रहेको उच्चस्तरीय संयन्त्र बनाउँछौं ।

त्यो राजनीतिक संयन्त्रलाई सबै राजनीतिक दलहरूलाई शान्ति र संविधानमा अग्रसर गराउँछौं । यसरी राष्ट्रिय सहमति बनाउँछांै । निश्चित अवधिमा पूरा गरेपछि अरू दल कांग्रेस, एमालेलाई फेरि सरकारमा सहभागी गराउने प्रयत्न हुन्छ । म त्यसमा सफल हुन्छु भन्ने विश्वास छ ।

शान्ति प्रक्रिया कति छिटो अघि बढ्ला ?

हामीलाई समयको चाप निकै छ । छिट्ट्रै मन्त्रिमण्डललाई पूर्णता दिनेबित्तिकै शान्ति प्रक्रिया अघि बढाउने काममा लाग्छु । हाम्रो पार्टीले निर्णय गरेजस्तै डेढ महिनाभित्र शान्ति प्रक्रिया टुंग्याउन सहमति खोजिनेछ । भ्रम के नरहोस् भने म आउनबित्तिकै डेढ महिनामा पूरा गर्ने भन्ने होइन । सहमति निर्माण गरी कार्यान्वयनमा जाने काम हुन्छ ।

नागरिकलाई राहत दिन संसद्मा पेस भएको बजेट संशोधन गर्नुहुन्छ ?

बजेटलाई आवश्यक सुधार गर्छौं भन्ने प्रतिबद्धता गरेका छौं । पुरानो सरकारले ल्याएको बजेट पारित भएको छैन । के विधिबाट परिमार्जन गर्न सकिन्छ भन्नेमा छलफल गर्नेछांै । त्यसबारे अर्थ मन्त्रालयसँग परामर्श लिन सुरु भएको छ ।

मधेसवादी दलहरूसँग सहकार्य कस्तो होला ?

वास्तवमा नेपालको मुख्य परिवर्तनकामी पहिलो शक्ति माओवादी हो । जनयुद्धको जगमा बनेको शक्ति हो । अर्को भनेको मधेसवादी शक्ति हो । उनीहरू पनि संघर्ष र संविधानसभाबाट आएका हुन् । उनीहरूसँगको एकताले अग्रगमनको परिवर्तनको आधार तयार गर्छ । माओवादी र मधेसवादीबीचको सहकार्य महत्त्वपूर्ण सुरुआत हो ।

संविधानसभाको म्याद सकिँदै छ, कसरी सहमति गर्नुहुन्छ ?
हामी तुरुन्तै भोलि नै पहिलेको सरकारले प्रस्तुत गरेको विधेयकलाई अपनत्व ग्रहण गरेर प्रस्तुत गर्छौं । पहिलेको सरकारले तीन महिना म्याद थप्ने प्रस्ताव गरेको छ, त्यो पर्याप्त हुँदैन । सबै राजनीतिक दलसँग सहमति जुटाएर प्रस्तुत गर्ने काम हुन्छ । मोटामोटी ६ महिना थप्ने गरी सहमति खोजिने छ ।

मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ ?
सानो मन्त्रिपरिषद् भोलि (सोमबार) बनाउँछु । त्यसपछि केही दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ । ठूलो मन्त्रिपरिषद् बनाउनु हुँदैन भन्ने पक्षमा छु । ठूला मन्त्रालयमा पनि आवश्यकताअनुसार राज्यमन्त्री राख्नुपर्छ भन्ने सोचाइमा छु । मन्त्रिपरिषद् बनाउन आवश्यक मापदण्ड बनाउने विचार गरेको छु । मन्त्री हुनका लागि निर्वाचित सभासद हुनुपर्छ । समावेशी, महिला, जनजाति र दलित हुनुपर्छ । अरू घटकलाई पनि त्यहीअनुसार संरचना बनाउन आग्रह गरेको छु ।

शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन पार्टीभित्र र बाहिर दबाब छ, कसरी मिलाउनु हुन्छ ?

म पूर्ण विश्वस्त छु । माओवादी पूर्णरूपमा एकताबद्ध छ । शान्ति र संविधानको कार्ययोजना एकढिक्का भएर आएको छ । पार्टीभित्र बहस त भइहाल्छ । पार्टी बाहिरबाट पनि सबैलाई मिलाएर जाने प्रयत्न हुन्छ ।

दुई छिमेकी भारत र चीनसँग कसरी सम्बन्ध विस्तार गर्नुहुन्छ ?

पृथ्वीनारायण शाहको पालादेखि नेपाल दुई ढुंगाबीचको तरुल भन्ने सोच पुरानो हो । अहिलको वित्तीय भूमण्डलीकरणको विज्ञान र प्रविधि विकास गरेको युगमा दुई ढुंगाको तरुल भएर कोही पनि बस्न सक्दैन । चीन र भारतसँग जीवन्त प्रकारको सम्बन्ध हुनु पर्छ । त्यहीअनुसार विदेश नीति बनाउनुपर्छ । दुई छिमेकीसँग सन्तुलित सम्बन्ध राख्ने काम गर्नुपर्छ । पञ्चशीलका आधारमा सम्बन्ध विकास गर्नुपर्छ ।

Comments

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

गहुँगोरो अफ्रिका (कविता) - आहुति