कसका लागि यो छात्रावृत्ति ?

मेडिकल र इन्जिनियरिङमा ४ सय ३६ लाई छात्रवृत्ति
काठमाडौ, भाद्र २ - सरकारले ४ सय ३६ जना निजामती कर्मचारीका छोराछोरीलाई स्वदेशभित्र चिकित्सा र इन्जिनियरिङ विषयमा उच्च अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । निजामती सेवाप्रति शिक्षित युवा वर्गको आकर्षण बढाउन सरकारले कर्मचारीका छोराछोरीलाई चिकित्सा र इन्जिनियरिङमा उच्च अध्ययन गर्न यस वर्षदेखि छात्रवृत्ति दिन लागेको हो । निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति उपलब्ध गराउने निर्देशिकामा उल्लिखित प्रक्रियाअनुसार आफ्नो मन्त्रालयले मंगलबार छात्रवृत्ति पाउने व्यक्तिको छनोट गरेको र त्यसमा कार्यालय सहायकदेखि सहसचिवसम्मका छोराछोरी परेको जानकारी सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता विनोद केसीले दिए । उनका अनुसार चिकित्सा विषयमा एमबीबीएस गर्न ७० छात्रासहित २ सय ५ जना, इन्जिनियरिङमा स्नातकोत्तर तहसम्म अध्ययन गर्न ४६ छात्रासहित २ सय ३१ जनाले छात्रवृत्ति पाएका छन् । केसीले ती विद्यार्थीलाई उच्च अध्ययन गर्न सरकारले छात्रवृत्तिबापत प्रतिवर्ष बढीमा २ लाख रुपैयाँसम्म प्रदान गर्नेछ । 'विद्यार्थीले कलेजमा तिर्नुपर्ने कुल रकमको ५० प्रतिशत वा प्रतिवर्ष २ लाखमध्ये कुन कम हुन्छ, त्यति रकम सरकारले छात्रवृत्तिबापत दिनेछ,' केसीले भने । एउटा विद्यार्थीलाई उच्च अध्ययन पूरा गर्दासम्म छात्रवृत्ति दिँदा सरकारको बढीमा १० लाख रुपैयाँ खर्च हुनेछ । यस्तो छात्रवृत्तिमा सरकारको प्रतिवर्ष करिब ४ करोड १५ लाख रुपैयाँ खर्च लाग्नेछ । छात्रवृत्तिका लागि आवेदन दिएका ४ सय ९५ मध्ये ५९ जनाले निर्देशिकामा तोकिएको प्रावधान पूरा नगरेकाले ४ सय ३६ जना छनोटमा परेको जानकारी केसीले दिए ।

दोब्बर कर्मचारीलाई पुरस्कार
सरकारले यस वर्षदेखि अघिल्ला सालभन्दा दोब्बरभन्दा बढी कर्मचारीलाई निजामती पुरस्कार प्रदान गर्ने भएको छ । प्रत्येक वर्ष उत्कृष्ट काम गर्ने २१ जनालाई पुरस्कृत गर्दै आएको सरकारले यस वर्षदेखि ४१ जनालाई पुरस्कार प्रदान गर्नेछ । सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा नियमावली संशोधन गरी १ लाख रुपैयाँ राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र ५० हजार रुपैयाँ राशिको निजामती सेवा पुरस्कार ३० जनालाई दिने व्यवस्था गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छ ।

अघिल्ला वर्ष सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार ५ र निजामती सेवा पुरस्कार १५ जनालाई दिन्थ्यो । २ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती पुरस्कार भने एक जनालाई मात्र दिइनेछ । आगामी भदौ २२ गते निजामती सेवा दिवसका
दिनमा सरकारले उक्त पुरस्कार वितरण गर्ने गर्छ ।

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=224142
प्रकाशित मिति: २०६७ भाद्र ३ ०८:२२

Comments

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

गहुँगोरो अफ्रिका (कविता) - आहुति