गहुँगोरो अफ्रिका (कविता) - आहुति


साहित्यकार आहुतिको अत्याधिक चर्चित कविता

गहुँगोरो अफ्रिका


-आहुती

मेरो रातो रगत
मानिसको पवित्र रातो रगत
नीलो पसिनाको बुँद बनेर जब झर्दछ
तिमी आफ्ना नरम अाजुलीहरुमा आली लगाएर थाप्दछौ ।
जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्दछु
तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्दछौ
आँखा जुधाउने आँट गर पुजारी
म बीसौं सताब्दीको अछूतु हुँ !
म न्याय चाहन्छु म मुक्ति चाहन्छु ।

तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ
ओदानमाथिको कराइमा मेरो पसिनाको गन्ध आउँछ
आँखा जुधाउन आँट गर धर्माती मान्छे
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानाहरुलाई च्यात्ने या जलाउने साहस गर
म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ !
म यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ।

तिम्रो बस्तीको सफा भुईँलाई सुँघ
बस्तीको हर चोक्टामा मेरो गन्ध आउँछ
आँखा जुधाउने आँट गर सफा मान्छे
कि मेरो रक्तनलीहरुमा पानी भर
कि आफ्नो दिमागको फोहर सफा गर
म तिम्रो बस्तीको फोहर सहने च्यामे हुँ !
तिम्रो मनका मनोरिाजत ग्रन्थीहरुलाई च्यात
त्यहाँ मेरो संगीतको मधुर सरसराहत सुनिन्छ
आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे
कि मलाई जनावरसँगै बाँध र घाँस खुवाउने आँट गर
कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर
म सारङ्गी रेट्ने मादल ठोक्ने गाइने हुँ !
म यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
माटोमा धस्सीएको मेरो जीवनलाई छाम
त्यहाँ मेरो आँशुको आहाल भेटिन्छ
आँखा जुधाउने आँट गर अघाएको मान्छे
कि तिम्रो गाँसमा मेरो आँशुको गन्ध छैन भन्ने आँट गर
कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर
म तिम्रो गोरुसँगै माटोमा पौडने मुसहर हली हुँ !
म यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

तिम्रो पाइतालाको जुत्तादेखि शिरको टोपीसम्म
तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म
म कहाँ छैन म सर्वत्र छु ।
मलाई तिमी कसरी अछूत बनाउन सक्छौ छूत मान्छे ?
कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
आँखा जुधाउने आँट गर पुजारी
म बीसौं सताब्दीको अछूत हुँ !
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु ।

Comments

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति