रुकुम नरसंहार : सत्ता षड्यन्त्रको विद्रुप तस्बिर जेबी विश्वकर्मा फुर्सद २७ असार २०७७ ११:०४:०० प्रतिक्रान्ति माओवादी क्रान्ति र रुकुम संसारभरि नै कम्युनिस्ट क्रान्ति वा समाजवादी आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ। समाजवादी राज्यव्यवस्थाको अभ्यास गरिरहेका सीमित देशहरू पनि भूमण्डलीकृत पुँजीवादी अर्थ-राजनीतिक व्यवस्थाविरुद्ध निरन्तर संघर्षमा छन्। संसारकै कम्युनिस्ट र समाजवादी क्रान्ति कठिन बन्दै गइरहेको अवस्थामा नेपालमा वि.सं. २०५२ देखि तत्कालीन नेकपा (माआवादी)ले दस वर्ष लामो जनयुद्ध गर्यो। यसले एकातिर संसारभरि नै कम्युनिस्ट क्रान्तिको सम्भावना छ भन्ने सन्देश दिएको थियो भने अर्कातिर क्रान्तिमार्फत नयाँ राज्यव्यवस्था निर्माण गर्न संकेत पनि दिएको थियो। उक्त क्रान्तिमा सामन्ती राजतन्त्रको अन्त्य, धर्मनिरपेक्षता, पितृसत्तात्मक शोषणको अन्त्य, सबै खाले जातीय शोषण उत्पीडनको अन्त्य, जातीय स्वायत्त शासन र दलितमाथिको विभेदको अन्त्य आदि मागलाई प्राथमिकतासहित उठाइएको थियो। त्यसैले जनयुद्धमा सबैभन्दा बढी गरिब र श्रमजीवी वर्ग, आदिवासी जनजाति, दलित, महिला र सीमान्तीकृत समुदाय सहभागी भए...
Comments