एकपाटे अनुहार - गुरुङ सुशान्त

एकपाटे अनुहार 

गुरुङ सुशान्त

जसरी समाज र राजनीतिको सालनाल जोडिएको हुन्छ, उसैगरी साहित्य र राजनीतिको साइनो पनि पराईको हुँदैन । भनिन्छ, विशिष्ट सौन्दर्य-मूल्यसहित राजनीति साहित्य हो र साहित्य राजनीति । कतिपय कलावादी साहित्यमा राजनीति नहुने सतही तर्क गरी सामाजिक जिम्मेवारीबाट पन्छिन खोज्छन् । ती कला-व्यापारबाट यथास्थितिवादको शोषकीय मठ-मन्दिरको संरक्षण-सम्वद्र्धन गर्न चाहने हुँदा साहित्यले गर्ने मानवीय राजनीतिलाई कम आँक्छन् । कोरा र बोक्रे ठेक्कापट्टावाल संसदीय खेललाई मात्र राजनीति ठान्ने कलावादीले साहित्यमा राजनीति घुसाउन नहुने जिकिर गर्दै घुमाउरो राजनीति नै गरिरहेका हुन्छन् ।

Gurung-Sushanta-Photo-aanuharविचारधाराको व्यावहारिक प्रयोग गर्ने राजनीतिसमेतलाई हस्तक्षेपकारी प्रभाव दिनसक्ने लेखकहरूले साहित्यमा हुने सूक्ष्म राजनीतिक प्रयोगसमेतलाई इन्कार गर्नु नै सामाजिक विडम्बनाको पलायनमुखी स्वरूप हो । पहिलो र अन्तिम प्रश्न यत्ति हो- वैचारिक÷राजनीतिक रचना कलात्मक छ कि छैन ? लेखक खगेन्द्र संग्रौला भन्छन्, 'साहित्यले गर्ने राजनीतिमा राजनीति हुने तर साहित्य नहुने जोखिमचाहिँ रहिरहन्छ ।' हामी लेखनबाट कुनै न कुनै प्रकारको राजनीति गरिरहेकै हुन्छौँ ।
कथासंग्रह 'काजोल खातुन'बाट फूलमान वलले पनि राजनीतिक भोकको क्षतिपूर्ति लिएका छन् । तर, उनी साहित्यको सांस्कृतिक विभागबाट कुन वर्गको विचार-पद्धतिलाई टेको दिने राजनीति गर्छन् भन्ने प्रश्न नै छलफलको केन्द्र हो ।
सन्देहात्मक प्रश्न गर्न सकिन्छ- यो पुस्तकको पहिलो संस्करण प्रकाशन हुँदा उनी अमूक राजनीतिक दलको अदृश्य संगठनात्मक दायित्वमा थिए कि ? १२ वर्षपछि पनि लेखकलाई चिन्ता छ— आफ्नो वैचारिक खोलो नधमिलियोस् भन्ने । १२ वर्षमा खोलो फर्किने नेपाली उखानको मिथकीय चेतलाई फरक ढंगले भत्काउन नसक्नु कविका रूपमा परिचित वलको 'सूत्रवादी' मानसिकताको संकेत होइन ? जगत्जस्तै वैचारिक पाइला गतिशील हुन्छ नै ।
नेपाली समाज र राजनीतिमा विगत दुई दशकमा ठूलै उपलब्धिहरूले सिँगारिएका उथलपुथल भए । वैचारिक डिस्कोर्सका नयाँनयाँ तरंग सतहमा दृश्यमान रहे । तर, वलले लामो समयको वि श्रामपछि पनि उही लोकेसनमा उभ्याएका छन् आफूलाई ।
कथाको सफलता र विश्वसनीयता मापनको आधार हुन्; कथावस्तु छनोट, चित्रण सामथ्र्य र विश्वदृष्टि । 'काजोल खातुन'मा संकलित कथाहरू द्वन्द्वको जमिनमा खडा भएका छन् । वर्ण व्यवस्थामा आधारित नेपाली समाज सयौं वर्षदेखि विभाजित थियो । गर्भमा दृश्य-अदृश्य द्वन्द्व रहिरह्यो नै । जनयुद्धको आरम्भसँगै नेपाली समाजको तल्लो तहसम्म नवीन चेतनाको धिपधिपे देखापर्यो । र, त्यही धिपधिपेयुक्त मसिनो उज्यालो धर्सो समयको बहावसँगै अन्तर्राष्ट्रिय जगत्कै ध्यान खिच्ने आन्दोलनको आँधीमा परिणत भयो ।
युद्ध र आन्दोलनका स्वाभाविक परिणामका गहिरा घाउ आमनेपालीले भागे । रमरम मादकताका लागि जसरी सोकेसमा सजाइएको मदिराको बोतल हेरेरमात्रै हुँदैन, उसरी नै गफका लामालामा पुल बाँधेर क्रान्तिको कर्तव्य पूरा हुँदैन । विश्वका ठूल्ठूला परिवर्तन युद्धबाट मात्रै सम्भव भएका उदाहरण प्रशस्त छन् हाम्रासामु ।
युद्धमा कमभन्दा कम मान्छे मरून् या मान्छे नै नमरून् भन्ने मनसुवालाई सुन्दर कल्पना मानिदिए हुन्छ । तर, त्यस्तो कल्पनाले साकार रूप लिन सम्भव छ ? फूलमान वलभित्रको कथाकार हतियारसहितको क्रान्तिभन्दा शान्तिपूर्ण आन्दोलनले परिवर्तन सम्भव छ भनी विश्वास गर्छन् । तर, शान्तिपूर्ण भनिएको आन्दोलनमा मान्छे मारिएका थिएनन् त ? आफ्नै कथाकारलाई यस्तो प्रश्न गरेमा उनले कस्तो जवाफ पाउलान् ?
यथार्थ प्रस्टै छ, आफ्नो सत्ता टिकाउन राज्य सधैं हतियारबद्ध भइबसेको हुन्छ । सामाजिक न्यायका लागि क्रान्ति गर्ने समुदायले चाहिँ गान्धीको पोस्टर मनमा टाँसेर 'रामराज्य' भनिरहे कहाँ पुग्ला समाज ? एउटा सचेत र जिम्मेवार नागरिकको उत्तरदायित्वबाट लेखकले आफ्नो हात झिक्न मिल्दै मिल्दैन । समाजमा विद्यमान विभेद र अन्तर्विरोधहरूका अन्तर्यलाई पाठकसामु राख्नु गम्भीर लेखकको कर्तव्य हो नै । तर, सामाजिक द्वन्द्वलाई टिप्दा एकपाटे अनुहारमात्र नदेखियोस् भनी लेखकले सचेतताचाहिँ अपनाउनै पर्छ । फूलमान वलले यतातिर ध्यान कम दिएको प्रस्टै थाहा हुन्छ । उनको ध्यान जनयुद्धका अँध्यारा पक्षहरूलाई घनिभूत रूपमा अनावृत्त गर्नमै केन्द्रित देखिन्छ ।
विमोचन कार्यक्रममा मैले ठट्यौलो शैलीमा भनेको थिएँ, 'यी कथाहरू लेखेको बेला कुलमान आएका थिएनन्, त्यसैले फूलमानले अँध्यारोका कथामात्रै लेखे ।' मैले यस्तो ठट्टा गर्दा लोडसेडिङमुक्त उपत्यकामा कुलमान घिसिङको प्रशंसा भर्खरै चुलिँदो थियो । तर, दर्शकहरूलाई हँसाउनमात्रै मैले यसो भनेको थिइनँ । 'काजोल खातुन'का कथाहरूले जनयुद्धका समग्र प्रक्रिया र परिणामलाई विद्रूपीकरणको अँध्यारो खाल्टोमा लगेर जाकिदिएका छन् ।
युद्धसँग उतिसारो चासो नराख्ने आम समुदायले पनि कहर खेपेकै हुन् । धेरैको जीवनले स्वाभाविक लय पक्रिन पाएन । युद्धका कारण कतिकति परिवार बेघर भए । यी अँध्यारा यथार्थको कथा-नदी लामै छ । तर, समाजको संरचना ध्वंस र निर्माणको द्वन्द्वात्मक प्रक्रियाबाट मात्रै सम्भव छ । संसारमा भएका सबै युद्ध र त्यसका परिणामलाई एउटै टोकरीमा राखेर हेरेमा महाभूल हुनेछ ।
जुनसुकै दलले सुरु गरेको भए पनि नेपालको जनयुद्ध विचारको बलियो जमिनमा उभिएको कुरा पुष्टि गर्न कुनै कम्युनिस्ट सुप्रिमोको भाषण-अंश सापटी लिनु पर्दैन । तर, कथाकार वलले जनयुद्धमा होमिएका क्रान्तिकारीहरूको वैचारिक अहमलाई ठेस पुग्ने गरी विरूप चित्रण गरेका छन् कथामा । मानौं, विद्रोही र आतंककारी उस्तै हुन् । उन्नाइस दिने जनआन्दोलन र अमुक दलसम्बद्ध केही व्यक्तिलाई भने 'नायक' बनाउन वलले खुब बल लगाएका छन्। जगजाहेर कुरा हो, सडकमा उफ्रिएर मात्र आजको परिवर्तन हात लागेको होइन । तर, जनयुद्धका रक्तिम आवेगलाई थाम्न जनआन्दोलनको काँध आवश्यक थियो नै ।
आज हामी जुन राजनीतिक मोडमा उभिएका छौं, त्यसप्रतिको इतिहासबोध गडबड भएमा हाम्रो चिन्तन-पद्धति र व्याख्या नै गलत धारमा बग्ने जोखिम रहन्छ । संविधानसभा, आंशिक भए पनि धर्मनिरपेक्षता, राजतन्त्रको ऐतिहासिक अन्त्य, गणतन्त्र, समानुतिक-समावेशी पद्धति, पहिचानबोध, संघीयताजस्ता ज्वलन्त विषयहरू आजका सौन्दर्य या फल हुन् भने यसको जरा-बिरुवा निःसन्देह जनयुद्ध नै हो । तर, जनयुद्धले अपनाएका हरेक विधि र प्रक्रिया वैज्ञानिक र न्यायसंगत रहेको जिकिर गरी 'जनयुद्ध-महान्' भन्नु अर्को लम्पसारमुखी मनोविज्ञानको पराकाष्ठा हुनेछ । तर, 'काजोल खातुन'को समग्र वैचारिकीले परोक्ष गोरेटोबाट सामाजिक विभेदलाई दिगो राख्न सघाउने खतरा उति नै छ । कहिलेकाहीँ कविहरू शब्द खेलाउने प्राविधिक सीपको उपयोग गर्दै यथार्थको भ्रष्टीकरण पनि गरिरहेका हुन्छन्, आफ्नो राजनीतिक आस्थाको आडमा । फूलमान तिनै शब्द खेलाडीहरूको भेलमा मिसिऊन् भन्ने कुविचार कदापि गर्न सक्दिनँ म ।
फूलमान वलले आख्यानमैत्री भाषाको विकास गरेका छन्, जुन गद्य लेखनयात्राका लागि निकै सुखद उपलब्धि हो । वलको भाषा परैबाट पहिचान गर्न भने कठिन छ । चल्तीको भनाइमा यसो भनूँ, मौलिक हस्ताक्षर निर्माण भइनसकेको गद्य हो वलको । तर, उनको भाषामा सहज-प्रवाह छ नै । तामाङ मातृभाषी लेखकलाई खस नेपालीमा यति सहज-गति दिनु पक्कै कठिन र चुनौतीपूर्ण कर्म हो । वलले चुनौती उठाएका छन् । र, केही सफल हस्तक्षेप पनि गरेका छन् ।
लेखकहरूलाई कहिलेकाहीँ भाषिक सिलाइ-बुनाइले मात्र पनि रत्यात्मक आनन्द दिनसक्छ । त्यो आनन्दसँगै समाजको भुइँ-पीडालाई छाम्ने चेत गुमाउनुचाहिँ दुर्घटना हुन जान्छ । हिजोको जनयुद्धका अगुवाहरू आजको पुँजीवादी बजारको दलदलमा डुबेर सीमान्तकृतहरूको दुःखप्रति आँखा चिम्लँदै गरेको कुरूप दृश्यमाथि बलहरूका कलम मौन बस्नु विडम्बनाको कुरा हुनेछ ।
विभेदकारी राज्यले उत्पीडनमा पारेको तामाङ समुदायका आँसु र आक्रोशको कथा फूलमानहरूलाई नै बढी थाहा छ । वलले गम्भीर हुँदै आफैंलाई सोधे हुन्छ मैले लेखेका कथाहरूमा मेरा पुर्खाका कथा आदर्शीकरण-प्रारूपीकरण गर्न सकेँ कि सकिनँ ? उनले समीक्षा गर्दा हुन्छ- परिवर्तनका लागि गौरवपूर्ण इतिहाससहित सहिद भएका तामाङ संस्कृतिकर्मीहरूको पाइला र रगतलाई 'काजोल खातुन'ले खिल्ली उडाएको छैन ? वल कस्ता तामाङ पात्रहरूलाई स्थापित गर्न रुचाउँछन् भन्ने प्रश्नसँग उनको आइडोलोजी जोडिएर आउँछ ।
'काजोल खातुन' लेखेको बेला कुलमान आएका थिएनन्, त्यसैले फूलमानले अँध्यारोका कथामात्रै लेखे । फूलमान वलले आख्यानमैत्री भाषाको विकास गरेका छन्, जुन गद्य लेखनयात्राका लागि निकै सुखद उपलब्धि हो । वलको भाषा परैबाट पहिचान गर्न भने कठिन छ ।
बाह्र वर्षपछि पनि उनी 'पेमासाङ थिङ' लेखेर क्रान्तिकारी इतिहासलाई पलायनको कंक्रिटले पुरिदिन्छन् । सामन्तवादको धरहरा ढाल्न हिँडेका विद्रोहीहरूको विचारमा कति चोट पुग्ला कि क्रान्तिबिना पनि सामन्तवाद समयक्रममा आफैं ढल्छ धरहराजस्तै भनिदिँदा । प्रतीकात्मक रूपमा वलको कथाले यही सोचलाई प्रवद्र्धन गरेको छ । कथाकारको उद्देश्य यस्तै नरहे पनि अर्थका अनेक तहमा पलायनको रङ गाढा भएर देखा पर्छ ।
भनिन्छ— बदलिँदो मानव, दुनियाँ, सम्बन्ध, तनाव र बग्दो समयको सही जानकारी राख्दै अगाडिको सम्भावित बाटो देखाउनु पनि आख्यानकारको काम हो । समग्रमा, उत्तम समाज-रचनाका लागि पाठकलाई सजग, सचेत र सक्रिय राख्नु नै कथाकारको दायित्व हो । यो दायित्वको कसीमा फूलमानले आफ्नो कथाकारलाई कुन दर्जामा राख्छन् ? उनलाई थाहा हुनुपर्छ, आख्यानमा इतिहास र कल्पनाको घुलन गराउँदा प्रतिरोधी विचारको अन्तर्य नखोतल्नु आख्यानकारका लागि घातक हुन जान्छ ।

छोरी पुस्तालाई 'काजोल खातुन' कथासंग्रह सिफारिस गर्न हिच्किचाउँछु म । चाहन्छु, लेखकको एकपक्षीय चित्रणबाट उत्पन्न हुने 'कन्फ्युजन'को धमिलो दहमा नयाँ पुस्ता ननिस्सासिऊन् । जब लेखकले जीवन-यथार्थमाथि आफ्ना पूर्वनिर्धारित सैद्धान्तिक सूत्रहरूले आक्रमण गर्छ, तब पाठक एक शाब्दिक उपभोक्ता मात्र बन्छ । अबको पाठक निष्क्रिय उपभोक्ता हुन तयार छैनन् । जनयुद्धलाई आफ्नै आँगनको घाम-जूनजस्तै नदेखेका पछिल्लो पिँढीको मानसमा यस्तो नपरोस् कि जनयुद्ध नेपाली इतिहासको कालरात्रि हो । वलले नलेखे पनि मैले देखेको छु, हजारौं मानिसहरू क्रान्तिका लागि हाँसीहाँसी मर्न तयार भएका । मानौं— उनीहरू एक किसिमको उज्यालो-यात्रामा थिए । ती आशावादी मानवहरूले निकटमै बिहानी देखेका थिए । बिहानीको यात्रामा हिँडेका जुझारु यात्रीहरू कहाँ अल्मलिए भन्ने बहसका ढोका त खुल्ला छँदैछ ।
जीवनमा अँध्यारो या उज्यालोमात्रै हुँदैन भन्ने सामान्य समझलाई कथाकारले लत्याइदिनाले 'काजोल खातुन' द्वन्द्व-साहित्यको मानक कृति बन्ने सम्भावनाको घेराबाट निकै पर धकेलिएको छ । तर, सामाजिक-राजनीतिक विमर्शका लागि यो कथासंग्रहको महत्वलाई नकार्न मिल्दैन । वर्तमान राजनीतिक उपलब्धिमाथि गर्व गर्ने तर यी उपलब्धिको बीजविचार जनयुद्धलाई चाहिँ सधैं धारेहात लाउने जमातका लागि 'काजोल खातुन' उत्कृष्ट पुस्तक रहने नै छ ।
जनयुद्धलाई महान् या निकृष्ट भन्ने दुई अतिवादी ध्रुवको तानातानमा वलले एकध्रुवीय डोरीको टुप्पो अँचेटेका छन् । 'काजोल खातुन'को वैचारिक ह्याङओभरबाट जतिसक्दो चाँडो फूलमान वल बाहिरिनु राम्रो होला । साँघुरो घेरा तोडेपछि उनको आख्यान-यात्रा उज्यालो हुनेमा म आशावादी छु ।

http://www.annapurnapost.com/news/67355
गुरुङ सुशान्त शनिवार, चैत १२, २०७३ 

Comments

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

गहुँगोरो अफ्रिका (कविता) - आहुति