एउटा 'बहुजातीय´ ईद
एउटा 'बहुजातीय´ ईद
मेरो ईद मेरानिम्ति हरेक वर्ष विशेष हुने गरेको छ। र, विशेष बनाइदिन्छन् मेरा हिन्दु साथीहरूले उत्साहपूर्ण सहभागिता जनाएर। यसपालि पनि मेरा हिन्दु साथीहरू आए।
त्यसैले म भन्ने गर्छु, एक हिसाबले मेरो ईद अन्तरधार्मिक हुने गर्दछ। टोल छिमेकबाट मात्र होइन, काठमाण्डू बस्ने मेरा सहपाठी जेबी विश्वकर्मा पनि आए।
अर्का दलित मित्र देवराज राम पनि आए। सहभागीको सूची सहपाठीहरु जीतेन्द्र गुप्ता, शिवकुमार गुप्ता, सन्तोष यादव र अरविन्द शर्माहरुले थप लम्ब्याइ दिए।
सन्देशले बोकेको सन्देश
बहुजातीय हुने गरेको मेरो ईद यसपटक क्षेत्रीय हिसाबले पनि विविधतायुक्त बन्यो। रामेछापका जेबीको आगमनले तराई-पहाडबीचको भेटको भाव समेत बोकेको थियो।
सामाजिक सञ्जालमा धेरै शुभकामना सन्देश पाएँ।
हिन्दु मन-मुटुबाट प्रस्फुटित अधिकांश ती सन्देश भन्थे, ‘प्यारो भाइलाई ईद मुबारक’, ‘ईदको शुभकामना, गनी’, ‘ईद मुबारक सर’ अनि ‘ईद उल फित्रको शुभकामना, भाइराजा’, यस्तै यस्तै।
‘ईदको कोसेली लिएर नआउ मात्रै, काठमाण्डू छिर्न दिन्नौ’ केहीको मायायुक्त चेतावनी छ। एकजनाले त भनिन्, “काठमाण्डू फर्किएर खबर मात्र गर्नु, कोसेली लिन हाम्फाल्दै आउँछु।”
बिहीबार बिहान ईदको प्रार्थना गरेर फर्किने बेला मैले इस्लामी परम्परा अनुसार सम्बोधन गरेका मुसलमान थोरै थिए।
गर्वले फुलेको छाती
हिन्दु बहुल ठाउँ भएकोले होला धेरैलाई ‘प्रणाम’ वा ‘दर्शन’ भनें, बदलामा आशीर्वाद पाएँ।
मेरो घर आउने हिन्दु साथीले बाबाआमालाई कि नमस्ते गर्छन् कि खुट्टा नै ढोग्छन्।
बाबाले नढोग्न भनेपछि कतिपयले हात मिलाउँछन्। यी र यस्ता माया र सद्भावको अनुभूत गर्न पाउँदा गर्वले मेरो छाती ढक्क फुलेको छ।
म प्रार्थना गरेर फर्किँदै गर्दा मुसलमान किशोरी हिन्दु सहपाठीलाई खानलाई दावत अर्थात निम्तो दिँदै हिँडिरहेका थिए।
उनीहरु ‘एकछिनमा आउँछौ’ भन्दै मुस्कुराइरहेका देखिन्थे। लाग्यो - हामीबीचको सद्भाव अझै उस्तै गाढा र उत्तिकै गहिरो छ।
खाँचो त केवल त्यसको निरन्तरताको छ।
‘हामीबीच विभाजन ल्याउनेलाई परै राख्न’ सक्नुमा त्यो सद्भावको निरन्तरता निर्भर छ।
Comments