हिन्दू वर्णव्यवस्थाका विस्तारक पृथ्वीनारायण शाह
हिन्दू वर्णव्यवस्थाका विस्तारक पृथ्वीनारायण शाह
बाइसे–चौबिसे राज्यमाथि जबर्जस्त सैनिक दमनबाट राज्य विस्तार गर्नु एकीकरण थियो या देशको एउटा भूगोल निर्माण थियो ?
२०७५ पौष २९ आइतबार ०८:३५:०० | काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहप्रति टिप्पणी नगर्न निर्देशन दिएका छन् । तर, नेपालको ऐतिहासिक राजनीतिक घटनाक्रमको वस्तुपरक विश्लेषण गर्ने हो भने पृथ्वीनारायण शाहबारे आलोचनात्मक विश्लेषण गर्नैपर्ने हुन्छ । अधिकांश इतिहास शासकका भक्तिमण्डलीले नै लेख्ने गरेका छन् ।
उनीहरूले लेखेको इतिहासका अधिकांश विषयवस्तु राजा–महाराजाका जयजयकार र वीरतापूर्ण गाथामै केन्द्रित छन् । पृथ्वीनारायण शाह र आधुनिक नेपालको इतिहासबारे लेखिएका अधिकांश लेख–रचना उनकै भक्तिगाथामा केन्द्रित छन् ।
व्यक्ति वा संस्थाका आ–आफ्नै सकारात्मक र नकारात्मक पाटा हुन्छन्, तर भक्तिगाथामा आधारित भएर लेखिएका एकतर्फी इतिहासले भ्रम पैदा गर्नुका साथसाथै फरक वास्तविकताको हत्यासमेत गरिदिन्छ ।
‘विजेता’ भनिएकाहरूको इतिहास निर्माणमा जीवनको बलिदानी दिने वा भूमिका निर्वाह गर्नेहरूको इतिहास नामेट पारिन्छ, उनीहरूका अमानवीय हर्कत र क्रूरता लुकाइन्छ र सधैँ कथित वीरताको इतिहास लेखिन्छ । पृथ्वीनारायण शाहबारे लेखिएको इतिहासले पनि यही वास्तविकताको प्रतिनिधित्व गर्छ ।
लिखित अधिकांश इतिहासले ‘नेपाल एकीकरण’को एकांकी तर्कलाई प्रस्तुत गरेका छन् । हिन्दू वर्णधर्ममा आधारित शासकीय जाति र समूहले पृथ्वीनारायणको सोही एकांकी इतिहासलाई प्रवद्र्धन गरिरहेका छन् र उनीमाथिको आलोचनात्मक दृष्टिकोणलाई निषेध गर्ने कोसिस गरिरहेका छन् ।
गोरखाका राजा पृथ्वीनारायण शाहलाई धेरै इतिहासविद्ले नेपालका एकीकरणकर्ता वा ‘राष्ट्रनिर्माता’का रूपमा चर्चा गरेका छन् । बाइसे–चौबीसे राज्यमाथि जबर्जस्त सैनिक दमनबाट राज्य विस्तार गर्नु एकीकरण थियो या देशको एउटा भूगोल निर्माण थियो वा ‘राष्ट्र’हरूको एकीकरण भन्ने विषयमा आलोचनात्मक रूपमा व्याख्या पनि भइरहेका छन् ।
इतिहासलाई घटनाविशेषको पृष्ठभूमि, क्रिया (एक्सन) र परिणामका आधारमा हेरिनुपर्छ । यसरी हेर्दा पृथ्वीनारायण गोर्खा राज्यका विस्तारकर्ता थिए भन्न सकिन्छ । यति मात्रै होइन, ‘असली हिन्दूस्थान’ स्थापनाका नाममा उनी बहुसभ्यताविरोधी र विभेदकारी राज्यव्यवस्थाका सर्जक पनि थिए ।
राजनीतिशास्त्रले देश हुनका लागि राज्यसत्ता, जनता र निश्चित भूगोल आवश्यक ठान्छ । तर, देशभित्रका ‘राष्ट्र’ वा मानिसहरूको समूह वा समुदायको सांस्कृतिक सम्बन्धविनाको देश वा बहुसंस्कृति, बहुसभ्यता र विविधताको ध्वंसले वास्तवमा राष्ट्रिय एकीकरण हुन सक्दैन ।
एउटा देशभित्र निश्चित भूगोल र जनता त हुन सक्छन्, तर सार्वभौमिकता, स्वायत्तता र आत्मसम्मान हरण गरिएका जनताले ‘राष्ट्र’को अनुभूति गर्न सक्दैनन् । त्यसैले पृथ्वीनारायण शाहको भौगोलिक विस्तारलाई स्वीकार गरे पनि विविध ‘राष्ट्र’बीचको एकता कायम गर्न नसकेका कारण त्यो बृहत् राष्ट्रिय एकता थिएन । त्यसैले पृथ्वीनारायणले भौगोलिक विस्तार गरे पनि राज्यको एकीकरण गरेको मान्न सकिँदैन ।
इतिहासविद् डिल्लीरमण रेग्मीले पृथ्वीनारायण शाहको सोच विस्तारवादी नै रहेको तर्क गरेका छन् । उनको महŒवाकांक्षा नै अरूमाथि आक्रमण गर्ने, कुनै पनि मूल्यमा राज्य विस्तार गर्ने थियो । राजनीतिक नेता बिपी कोइरालाले पनि शाहको उद्देश्य गोरखा राज्यको विस्तारभन्दा अरू केही नरहेको विश्लेषण गरेका छन् । उनले नेपाल देश बने पनि राष्ट्र बन्न नसकेको टिप्पणी गरेका छन् ।
‘असली हिन्दूस्थान’ निर्माण र खस–आर्यको एकल जातीय सत्ता स्थापनाको अभीष्ट बोकेर राज्य विस्तार सुरु गरेका पृथ्वीनारायण दमनकारी राजा थिए । गोरखाबाट भागेर नुवाकोट पुगेका जयन्त राणालाई दिएको कठोर सजाय होस् वा १८२२ चैतको पहिलो सातामा कीर्तिपुरका नेवारहरूको नाक काटी बाघभैरवमा चढाएको घटना, यसले पृथ्वीनारायण शाह क्रूर र अमानवीय स्वभावका थिए भन्ने देखाउँछ ।
कतिपयले युद्धका वेला यस्ता घटना हुन्छन् भनेर मान्ने गरेका छन्, तर ‘एकीकरण’का नाममा यस्ता क्रूर र अमानवीय घटना हुनुलाई कसैगरी औचित्यपूर्ण मान्न सकिँदैन । त्यसैले पनि उनी ‘राष्ट्रनिर्माता’ वा एकीकरणकर्ता होइनन् वा राष्ट्रिय एकताका प्रतीक थिएनन् र होइनन् ।
राज्य एकीकरण फरक–फरक राष्ट्र, सभ्यताबीचको सहमति र एकताबाट पनि हुन सक्छ । उदाहरणका लागि स्विट्जरल्यान्डलाई लिन सकिन्छ जुन विभिन्न जात तथा जातजातिको स्वैच्छिक सम्झौताबाट बनेको थियो ।
बलपूर्वक अतिक्रमण गरेर वा अन्य समुदायको पहिचान, सभ्यता, भाषा र संस्कृतिमाथि आक्रमण गरेर हुने केवल राज्य विस्तार मात्रै हो । पृथ्वीनारायण शाहले दमनकै आधारमा स–साना राज्यलाई गोरखा राज्यअन्तर्गत समावेश गरेका हुन् । भूगोल मात्रै राज्य होइन, फरक–फरक सभ्यता र संस्कृतिको भावनात्मक एकताविना कुनै पनि राज्यको वास्तविक ‘एकीकरण’ हुन सक्दैन ।
बरु पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तारसँगसँगै तीव्र साम्प्रदायिकताको बीजारोपण गरे । आदिवासी जनजातिप्रति लक्षित गर्दै ‘तिघ्रे र पर्वते स्वाँठलाई सभ्य हुन नदिनु, मतवालीलाई मन्त्रिमण्डलमा सामेल नै नगराउनु र बाहुन–क्षेत्रीकै मन्त्रिमण्डल बनाउनु’ भन्ने आशयका दिव्योपदेशलाई नै आधार मान्ने हो भने पनि उनी कति साम्प्रदायिक थिए भन्ने प्रस्ट हुन्छ ।
जातीय विविधता भएको समाजमा दिइएका यस्ता कथित दिव्योपदेश कसरी न्यायोचित हुन सक्छ ? यस दृष्टिकोणबाट हेर्दा पनि उनी साम्प्रदायिक र अन्यायपूर्ण समाजका पथप्रदर्शक थिए भन्न सकिन्छ ।
गोरखा राज्य विस्तारका क्रममा दलित समुदायबाट पृथ्वीनारायण शाहले निकै फाइदा र सहयोग लिएका थिए । गोरखा सेनाको मनोबल बढाउन अग्रसर बिसे नगर्ची, फलामका खुँडा, खुकुरी, तरबार, भाला, धनुकाँड आदि बनाएर साथ दिने जसवीर कामी, गोरखाली सैनिकलाई हतियार चलाउने तालिम दिने यखाजंग विश्वकर्मा (कामी), सैनिकका लागि छालाको टोपी, जुत्ता, तोप र खुकुरीको दाप आदि बनाएर सहयोग गर्ने कालु सार्की र सुराकीका रूपमा विभिन्न क्षेत्र घुमेर सूचना ल्याउने मनिराम गाइने थिए ।
पृथ्वीनारायणलाई सूचना, प्राविधिक र बौद्धिक क्षेत्रबाट तत्कालीन समयमा दलितले साथ दिएका थिए । इमानदार नागरिकका रूपमा उनीहरूले पृथ्वीनारायण शाहको अभियानलाई साथ दिए । तर, तिनै शाहले हिन्दू समाजमा जबर्जस्त दलितमाथि छुवाछुत—भेदभावलाई निकृष्टतापूर्वक लागू गरे भने बौद्ध, किरात र प्रकृतिपूजक आदिवासी जनजातिलाई पनि दलितमाथि छुवाछुत–भेदभाव गर्नैपर्ने बाध्यकारी संरचनाको अंश बनाइदिए ।
त्यसकारण उनीहरूले पनि दलितमाथि निरन्तर विभेद गर्दै आएका छन् । आफ्नो महत्वाकांक्षी योजनामा साथ दिने दलित समुदायलाई मानवोचित जीवनसमेत जिउन नदिने राजनीतिक व्यवस्थाका सुरुवातकर्ता कसरी ‘राष्ट्रनिर्माता’ हुन सक्छन् ?
आधुनिक समाजमा जातव्यवस्था र विभेदलाई संस्थागत गर्ने र सीप, कला र इमानदार दलितमाथि हिन्दू सामन्तवादी राज्यसत्ता थोपर्ने पृथ्वीनारायण दलितलाई दासप्रथामा राख्न चाहने सामन्त हुन् । हिन्दू वर्णव्यवस्था र जातपात छुवाछुतका विस्तारक र प्रवद्र्धक पृथ्वीनारायण दलितका लागि कुनै पनि कोणबाट ‘राष्ट्रनिर्माता’ थिएनन् ।
पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तार गरेर आधुनिक नेपालको अहिलेको जस्तो भूगोल निर्माण गरे । इतिहासकारहरूले यसलाई तत्कालीन आवश्यकता थियो भन्ने गरेका छन् । आवश्यकताबोध भएपछि विभिन्न राष्ट्रहरू एकीकृत हुन सक्छन् ।
सबैले आवश्यकताबोध गरे मात्रै त्यहाँ आफ्नो पहिचान, अस्तित्व र आत्मसम्मानसाथ एकीकरण हुन सक्छ । विभिन्न फेडेरेसनको अभ्यास पनि यस्तै हुन् । तर, एकीकरण एउटाको बलमिच्याइँबाट प्राप्त हुन सक्दैन, जबर्जस्ती स्वीकार गर्नु वा दमनमा परेर स्वीकार गर्नुपर्ने परिस्थिति बन्नु बेग्लै कुरा हो ।
पृथ्वीनारायणले बलजफ्ती र भाषिक, सांस्कृतिक, आर्थिक दमनबाट एकीकरण गर्न खोजे । धार्मिक रूपमा गैरहिन्दू समुदायलाई जबर्जस्ती हिन्दूकरण गरे । पृथ्वीनारायण शाहकै राजनीतिक जगमा उभिएर वि.सं. १९१० मा जंगबहादुरले मुलुकी ऐन जारी गरे ।
जसले हिन्दू खस अहंकारवादलाई राज्यको सिद्धान्त मान्यो । वि.सं. १९२० मा हिन्दू पर्व दसैँ नमानेको निहुँमा धनकुटामा दुईजना राईको हत्या गरिनु यसैको परिणाम थियो । नेपाली समाजलाई विभिन्न तहमा विभाजन गरी फुट पैदा गरियो र जातीय विभेद तथा छुवाछुतलाई वैधानिकता प्रदान गरी कला, सीप र श्रमका धनी दलित समुदायले आधारभूत रूपमा मानवीय जीवनसमेत बाँच्न नपाउने अवस्था बनाइयो ।
राज्य विस्तारकै परिणाम मौलिक भाषा, संस्कृति र मनोविज्ञान भएका समुदायका संस्कृति नै लोप हुने अवस्थामा पुग्यो । मल्ल शासन जितेपछि पृथ्वीनारायण शाहले नेवार जातिका इसाइ धर्मावलम्बीलाई देशनिकाला गरिनु, रणबहादुर शाहलाई प्रतिवेदन पठाउने एकजना लिम्बू किपटियाले लिम्बू भाषामा लेखेको निहुँमा ‘म गोरखाली राजालाई नेपाली भाषामा नलेखी लिम्बू भाषामा चिठी लेखी अपमान ग¥यो’ भनी आइन्दा फेरि लिम्बू भाषामा लेखेमा ‘काटी मार्नू’ भनी हुकुम दिनु, उनले वि.सं. १७९२ मा बौद्धधर्मी कैयौँ तामाङको हत्या गराउनुजस्ता उदाहरणलाई गोरखा राज्य विस्तारले ल्याएको क्रूर परिणामका रूपमा लिन सकिन्छ ।
राज्य विस्तारकै जगमा शाह र राणाले विभिन्न जातीय समुदायमाथि दमनकारी सत्ता सञ्चालन गरे । प्रधानमन्त्री चन्द्रशमशेर राणाले नेवार र मधेसीलाई सेनामा नराख्नु भन्ने आदेश दिई सेना हुन नपाउने बनाइदिए ।
वि.सं. १९९७ मा जुद्धशमशेरले प्रजापरिषद्को आन्दोलनमाथि दमन गर्दा मातृभाषाका साहित्य लेखनलाई अपराध ठह¥याई नेपाल भाषाका लेखकमाथि ‘राजकाज मुद्दा’ चलाई १२ वर्ष कैददेखि सर्वस्वहरणसहित जन्मकैदको सजाय दिएका थिए । उनले ‘नेपालमा बौद्ध धर्म प्रचार गर्न नदिनू’ भनी बौद्ध भिक्षुलाई देशबाटै निकाला गरे जुन काम पृथ्वीनारायण शाहकै राज्य विस्तारको जगमा भएका थिए ।
यसैको परिणाम शाहवंशीय शासनको सुरुदेखि नै नेपाल खस–आर्य राज्यका रूपमा रहँदै आयो । सामन्तवादी राज्यव्यवस्थाको अन्त्य र पछाडि पारिएका आदिवासी, जनजाति, मधेसी, दलित आदि समुदायको आन्दोलनकै कारण समावेशी राज्य बन्ने प्रक्रियाको थालनी भएको छ ।
यद्यपि, अहिले पनि नेपाल बहुराष्ट्रिय राज्यका रूपमा विकसित हुन सकेको छैन । बहुराष्ट्रिय राज्यमा मानिसबीच सांस्कृतिक सम्बन्ध, हार्दिकता, आत्मसम्मान र सद्भाव हुन्छ । विभेदकारी र दमनकारी शाहवंशीय राज्यसत्ताकै निरन्तरताका कारण नेपालका बहुसंख्यक आदिवासी जनजाति, मधेसी, दलित र अन्य सीमान्तकृत समुदायले देश मेरो हो, तर राष्ट्र मेरोे होइन भन्ने अवस्था निर्माण भयो ।
पृथ्वीनारायण शाह विभेदकारी वर्णव्यवस्थालाई प्रवद्र्धन गर्ने, अन्य सांस्कृतिक सभ्यता र राष्ट्रहरूमाथि बलजफ्ती गरी हिन्दुत्व र खस–आर्यको शासन लाद्ने र विभेदलाई संस्थागत गर्ने राज्यका अगुवा हुन् । उनले नेपालको अहिलेको आकृतिको भूगोल निर्माण गरे, त्यसकारण उनलाई देशको भूगोल निर्माता भन्न सकिएला, तर वास्तवमा उनी राष्ट्रको एकीकरण गर्ने राष्ट्रनिर्माता नै चाहिँ थिएनन् भन्ने परिणामले देखाउँछ ।
Comments