एउटा दासको घोषणा–पत्र - राजु स्याङतान
एउटा दासको घोषणा–पत्र राजु स्याङतान आफ्नै चिहान माथि चुपचाप निधाइरहेको यस युगको असली दास हुँ म कोर्रा लगाएको छैन आज तर कुटिएको छु आफ्नै हातले नेल देख्दिनँ खुट्टामा तर बाँधिएको छु आफ्नै मस्तिष्कले निधारमा छैन कुनै मूल्यसुची तर बेचिएको छु प्रत्येक पल यो तातो पृथ्वीलाई पसिनाले पगालेर सभ्यताको पहिलो जग बसाउने म आज हिँडिरहेछु हरेक साँझ बास माग्दै नङ्ग्राले धर्ति खोस्रिएर सिसमहल बनाउने म आज मागिरहेछु आफ्नै लास छोप्ने एक चपरी माटो युगौँ युगपछि आज यो सुनसान मसानघाटबाट ब्यूँझेर सोचिरहेछु म सँग किन छैन स्वतन्त्रताको एक मुठी सास ? किन बेचिन्छु पुस्तौँ पुस्ता ? अब जान्छु मेरा पुर्वजहरुको चिहान खोज्न मृत्यु पर्यन्त पनि साङ्लामै बाँधिएका करोडौँ कङ्कालहरु जम्मा गरेर सोध्छु आखिर कसले बनाएको हो यो संसार ? आल्पस पहाडमा रोमसँग लड्दालड्दै हारेर पनि संसार जितेका स्पार्टाकस्का अदम्य छातीका टुक्राहरु जम्मा गरेर सोध्छु कसले जितेको हो दुनियाँ दास मालिकले कि तिमीले ? इजिप्टको पिरामिड बनाउन नाइल नदीबाट ढुङ्गा बोक्दाबोक्दै रगत सकिएपछि फालिएका लाखौँ इजिप्टसियनका हाडहरु उत्खनन् गरेर सोध्छु क...