दलित संघर्षको इतिहास
दलित संघर्षको इतिहास
सवालटर्नकी भारतीय अध्येता गायत्री स्पिभाकले आफ्नो चर्चित लेख ‘क्यान सवालटर्न स्पिक?' मा सवालटर्न अथवा ‘सानो दर्जाका जनता'को स्थितिलाई आर्थिक, राजनीतिक तथा पहिचानको दृष्टिकोणबाट औंल्याइन्।
यद्यपि, उनको लेख उपनिवेशवादको परिप्रेक्ष्यमा लेखिएको भए तापनि जातीय विभेद तथा छुवाछुतले आक्रान्त दक्षिण एसियाको सन्दर्भमा यो प्रश्नको छुट्टै भौगोलिक तथा सांस्कृतिक अर्थ र पाटो छ, र छुट्टै उत्तर पनि। असीको दशकमा सोधेको यो प्रश्नको जवाफ अहिले एक्काइसौं शताब्दीमा भने बिस्तारै देखा पर्न थालेको छ, त्यो पनि दक्षिण एसियाबाट नै। यसको उदाहरण नेपालमा पनि विगतका केही ऐतिहासिक राजनीतिक परिवर्तनसँगै देखा पर्न थालेका छन्। यस्तै तात्िवक परिवर्तनका उदाहरण र विमर्शलाई समेटिएर लेखिएको पछिल्लो पुस्तक हो, दलनविरुद्धको प्रतिरोधः नेपाली दलितको सङ्घर्षगाथा। पुस्तकले नेपालको सन्दर्भमा स्पिभाकको प्रश्नको गतिलो सकारात्मक जवाफ दिने प्रयास गर्दछ, हो अब सवालटर्न बोल्न सक्छन्। पुस्तकले नेपाली दलितको संघर्षसम्बन्धी एउटा बौद्धिक छलफलको थालनी गरेको छ।
यो पुस्तक अनुसन्धानमूलक लेख तथा केही वस्तुगत अध्ययनको संगालो हो। पुस्तकले समाज र समयले ल्याएको दलित चेतना र अमानवीय प्रथा तथा व्यवहारको प्रतिरोधको संघर्षलाई प्रस्ट्याउने प्रयास गरेको छ। दलनविरुद्धको प्रतिरोधको इतिहास नयाँ होइन। छुवाछुत तथा जातीवादको प्रतिरोध राणाशासनकालको पूर्वार्द्ध र उत्तरार्द्ध पनि भएको पाइन्छ। पुस्तकको परिचयमा सम्पादकद्वय उल्लेख गर्छन्, शक्ति सञ्चालनको पक्षबाट नै हिन्दु धर्मको सुधारवादी धारणा र सार्वजनिक स्थलमा छेकथुनविरुद्ध चन्द्र शमशेर तथा शुक्रराज शास्त्रीले नै कदम चलाए पनि देख्नलायक उल्लेखनीय नतिजा प्रजातन्त्रको स्थापनापछि मात्र भएको हो। स्पष्टतः २००८ पछिमात्र राजनीतिक मोर्चाबन्दी र सांगठनिक एकता सुरु भएको पाइन्छ। पुस्तक–परिचयमा दलनविरुद्धको प्रतिरोधको संघर्ष इतिहासलाई शृंखलाबद्ध रूपमा प्रस्तुत गरिएको छ।
दलित केन्द्रको संघर्षको इतिहास हेर्दा संघर्षको केन्द्रविन्दु मन्दिर तथा अन्य (हिन्दु) धार्मिक संस्था नै रहेको पाइन्छ। र, पुस्तकमा मन्दिर प्रवेशका वस्तुगत मुद्दालाई प्रमुख जोड दिए पनि यो मात्र दलित आन्दोलनको साध्य हुनुहुँदैन भन्ने आवाज छ। हिन्दुवादी शक्ति सञ्चालन प्रतिरोधस्वरूप धर्म परिवर्तन ‘ट्रेन्ड' मौलाउँदै गएको छ। दलितको वास्तविक पहिचान गर्न नसकेको पुस्तकमा समावेश धेरै लेखको निर्क्यौल छ। तर, के धर्म परिवर्तन नै दलित उत्पीडनको निकास हो? यो प्रश्नको चोटिलो विश्लेषण भने पुस्तकमा भेटिँदैन।
ग्रामीण र विकट क्षेत्रमात्र होइन, आधुनिकताको केन्द्र मानिने राजधानी काठमाडौंको पनि जातीय विभेद र छुवाछुतको इतिहास छताछुल्ल छ। उपत्यकामा १९६१ सालपछि माधवराज जोशी र शुक्रराज शास्त्रीको प्रयासमा हिन्दु धर्मतन्त्रको जग हल्लाउन र दलित आन्दोलनको आधारशीला हाल्न मद्दत गरेको पाइन्छ। २०१० को पशुपति मन्दिर प्रवेश यसको महत्वपूर्ण कडी हो। जेबी विश्वकर्मा ‘पशुपति मन्दिर प्रवेश संघर्षः जब राज्य झुक्नु पर्याे'मा पशुपति मन्दिर प्रवेश संघर्षलाई दलित आन्दोलनलाई राष्ट्रिय तहको संघर्षको रूपमा बोध गराउने र राज्यलाई झुकाउने सशक्त प्रयासको द्योतक मान्छन्। त्यो बेलासम्म छुवाछुत गैरकानुनी र असंवैधानिक भए पनि, दण्डनीय थिएन। उक्त प्रयासले यस्ता प्रथाको निरन्तरतालाई दण्डनीय बनाउन मजबुर गर्योि।
पुस्तकको अर्को महत्वपूर्ण पक्ष, दलित आन्दोलन छुवाछुत र विभेदमा मात्र समर्पित थिएन, यसका अन्य पक्षहरू पनि थिए। पुस्तकका अन्य लेख, ‘सिपापोखरे पानी उघाउ संघर्ष', ‘उदयपुरमा सहभोज', ‘बादी समुदायको संघर्ष', ‘गैंडाकोट दूध भराउ संघर्ष' आदिले सामाजिक तथा राजनीतिक महत्वका अन्य पक्ष जस्तैः भूमिसुधार, समावेशी, जातीय समानता, सामाजिक न्यायका सवाललाई उठान र विमर्श गर्नुका साथै दलित आन्दोलनका सबल र दुर्बल पक्षको लेखाजोखा गरेका छन्।
बागलुङ जिल्लाको मूलपानीबाट सुरु भएको दलित आन्दोलनले कठोर जहाँनिया राणाशासनकाल विरुद्ध औंला ठड्याउनु आफैंमा महत्वपूर्ण थियो। तापनि, ‘हिन्दु धर्म नै वर्ण व्यवस्था, छुवाछुत र जातपातको आधार हो' भन्ने तथ्यलाई नबुझ्नु यो सांगठनिक संघर्षको सैद्धान्तिक कमजोरी थियो, बरालिको ठम्याइ छ।
पुस्तकका केही लेखले आन्दोलनको राजनीतिक तथा संवैधानिक पाटोको चर्चा गर्छन्। पद्मलाल विश्वकर्माको लेख ‘सिंहदरबार घेराउ तथा भद्रकाली अनसन'ले २०५७ साल असारमा भएकोे दलित आन्दोलन फलस्वरूप धर्म निरपेक्षताको बहाली र प्रतिनिधि सभामा दलित आरक्षण तय गर्नेजस्ता संवैधानिक अधिकारबारे टिप्पणी गर्छ।
अर्को समय सान्दर्भिक उठान हो, दसवर्षे जनयुद्धमा दलित बलिदानको भूमिका। जनयुद्धको दौरान राज्यबाट मारिनेमध्ये १२.६ प्रतिशत दलित छन्। दलित बलिदानको यथेष्ट पहिचान र प्रतिनिधित्व नहुनु ब्राह्मणवादी र दक्षिणपन्थी अवसरवादको अभिव्यक्ति हो, तिलक परियार तर्क गर्छन् आफ्नो लेख ‘दसवर्षे जनयुद्धमा दलितको बलिदान गाथा'मा। त्यसै गरी आहुति भन्छन्, ‘२०६३ को अन्तरिम संविधानले दलित आन्दोलनलाई मूर्तरूप दिने काम गर्योभ। सामाजिक समावेशीको सिद्धान्तलाई अंगीकार गरी दलित र अन्य पिछडिएका जातिलाई सामाजिक न्यायको मोडेलमा समावेश गर्यो्।'
यद्यपि, पुस्तकमा केही सवाल अनुत्तरित छन्। प्रायः सबै लेखमा हिन्दु धर्म र शास्त्र, दलित उत्पीडन र विभेदको उद्गमविन्दुको रूपमा चरितार्थ छन्। यो उत्पीडन शास्त्रको अबुझ, अल्पज्ञान वा अवैज्ञानिक व्याख्याले ल्याएको हो वा दलित आन्दोलनको दृष्टिकोणबाट शास्त्र नै गलत छ? प्रश्नको एथेष्ट चर्चा नभेटिन सक्छ। पुस्तकको निष्कर्ष छ– दलित आन्दोलन समयबोध र राजनीतिक चेतनाले उत्पन्न भएको अभिव्यक्ति हो। धर्मको नाममा भएको अन्धविश्वास र धर्मान्धतालाई दक्षिण एसियाको सन्दर्भमा विज्ञानले पनि पखाल्न सकेन। विश्व एक्काइसौं शताब्दीको डिजिटल युगमा पुग्दा, हाम्रो समाज जातीय छुवाछुत र दलनजस्ता साँघुरा घरायसी पर्खालबीच पिल्सिएको छ, यो हाम्रो समाजको लागि विडम्बना हो।
कृति : दलनविरुद्धको प्रतिरोध
सम्पादक : राजेन्द्र महर्जन र डा. यामबहादुर किसान
प्रकाशक : समता फाउन्डेसन
पृष्ठ : ३३४
http://www.nagariknews.com/nagarik-sanibar/story/26034.html
Comments