बीसे नगर्चीर्को बयान

कविता:बीसे नगर्चीर्को बयान


श्रवण मुकारुङ 

मालिक!
म यो गोरखा राज्यमा
अढाइ सय वर्षपछि बौलाएँ
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिरमिर तिरमिर भएर
हजूरको शिर दशवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ
कहाँनिर छ बीसे नगर्ची
मालिक!
म बौलाएँ
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्नुपर्न
यो गोरखकालीको पाऊ छोएर
नुनको सोझो हुनुपर्ने
अढाइ सय वर्षपछि आज के भयो मलाई?
यो बीसेलाई दशा लाग्यो मालिक!
म बौलाएँ!

नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बीसेको झुप्रो न हो जलाइएको
यतिमै यो बीसे उफ्रिनु पर्ने!
थुइक्क बीसे.....

म बौलाएँ मालिक!
म बौलाएँ
मेरो हात भाँचियो
अब म हजूरका भारदारहरुलाई लवेदा सिउन सक्दिनँ
नर्सिङ्गा फुक्न, सनाइ बजाउन
अथवा कुनै मङ्गलगान वा मृत्यु गीत गाउन सक्दिनँ
मेरो खुट्टा भाँचियो
अब म हजूरको राज्यको पहरा गर्न सक्दिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठीक्कले बोल्न सक्दिनँ
मालिक! म बौलाएँ

मालिक!
यो गोरखा राज्य अघि उभिएका
हिजोका ती अग्ला अग्ला पहाडहरु
आज कसरी यस्तरी होचाहोचा भए?
हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरु
आज कसरी यस्तरी खुनी र कुरुप भए?
दरौदी किन उल्टो बगेको देख्छु?
यो दरबारै किन खण्डहर जस्तो देख्छु?
म बौलाएँ मालिक! म बौलाएँ!

मालिक!
हजूरको तरवारले टाउको काट्छ कि फूल
भ्रममा परें म।
हजूरको बन्दुकले विचार ढाल्छ कि मान्छे
भ्रममा परेँ म।
यसलाई प्रजाले बनायो कि राजाले
भ्रममा परेँ म।
अढाइ सय वर्षदेखि म तपाईँसमक्ष छु मालिक
म कसरी आतङ्ककारी हुन सक्छु
म केवल बौलाएँ मालिक
बौलाएँ  
हो, मैले मालिकको दिव्योपदेश पालन गरिन हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला
भानुभक्त बाजेको गीत र मेरा सियो बराबर हो भनेँ हुँला
मैले सिएको सुकिला लुगा ओढेकाहरुलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरेँ हुँला

मालिक
मान्छे बौलाएपछि आफैँसित पनि निहुँ खोज्दोरहेछ
अढाइ सय वर्षेखि मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दर सन्तानहरु कहाँकहाँ पुगे
मैले
खोज्न चाहे हुँला
मेरा औंलामा खोपिएका छ्यान्द्रा रगतहरुले मलाई
उक्सायो
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनेको मुलुक विशाल ठानेँ हुँला

मालिक
यस माटोको इतिहाससँगै म हजूरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुन सक्छु
म साँच्चै बौलाएँ मालिक
साँच्चै बौलाएँ
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिरमिर तिरमिर भएर
हजूरको शिर दशवटा देखिरहेछु
खोइ मेरो पैतला कहाँनिर छ
कहाँनिर छ बीसे नगर्ची

मालिक
म बौलाएँ!

Comments

Popular posts from this blog

Media & public agenda

गहुँगोरो अफ्रिका (कविता) - आहुति

नेपालको बाहुनवाद - डा. कृष्ण भट्टचन