लोकतन्त्रीकरणमा सामुदायिक रेडियो रेडियोको भूमिका
लोकतन्त्रीकरणमा सामुदायिक रेडियो रेडियोको भूमिका |
जे.बी. विश्वकर्मा
|
इटालीका मार्कोनीले तार प्रयोग
नगरिकन वायुमण्डलमा तरङ्गहरूको माध्यमबाट सङ्केत पठाउन वा प्राप्त गर्नसकिने
प्रविधि पत्ता लगाइसकेपछि सन् १९२० मा पहिलोपल्ट अमेरिकामा रेडियो प्रसारण
सुरू भयो । त्यसपछि मात्रै विश्वमा रेडियोको विकास सुरु भएको मानिन्छ । यसरी सुरु
भएको रेडियो बिस्तारै विकास हुँदै जाँदा ती रेडियोको सञ्चालन, स्वामित्व, जनताको
सहभागिता र ती रेडियोले प्रसारण गर्ने सामग्रीका आधारमा ती रेडियोलाई विभिन्न
समूहमा राखेर वर्गीकरण गर्न थालियो । विशेषगरी रेडियोको प्रकृति हेरेर सार्वजनिक
रेडियो, निजी व्यापारिक रेडियो र सामुदायिक रेडियो विभाजित गरी व्याख्या गर्न सुरू
गरेको पाइन्छ । यसै क्रममा सन् १९४७ मा बोलिभियामा खानी मजदुरहरूले 'भ्वाइस अफ दि
माइनर' नामको रेडियो सञ्चालन सुरू गरे । मजदुरहरूले उनीहरूकै हितका लागि उनीहरूकै
व्यवस्थापन र नियन्त्रणमा सो रेडियो सञ्चालन गरेका थिए । जुन रेडियोलाई विश्वको
पहिलो सामुदायिक रेडियो मानिँदै आएको छ । त्यसैले समुदायकै व्यवस्थापनमा समुदायकै
सदस्यहरूको हितका लागि सानो क्षेत्रमा सञ्चालित गैरनाफामूलक रेडियोहरूलाई सामुदायिक
रेडियोको रूपमा व्याख्या गर्न थालिएको हो । यसरी सामुदायिक रेडियोहरूलाई समुदायकै
व्यवस्थापन र सञ्चालनमा रहेको रेडियोको रूपमा परिभाषित गरिएको पाइन्छ ।
नेपाली मिडियाले लोकतान्त्रिक आन्दोलनमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरे । जनताको लोेकतन्त्रप्रतिको चाहनालाई सामुदायिक रेडियोहरूले स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । निमुखा वा बोल्न नसक्ने सोझा, सीधा मानिसहरूको बोली बोल्ने अथवा बोल्न सघाउने माध्यमको रूपमा लिइएको सामुदायिक रेडियोले स्थानीय तहका सवाललाई पनि प्रभावकारी ढङ्गबाट उठाउने प्रयत्न गरिरहेका छन् । उपेक्षित जनताको आवाजका रूपमा काम गर्नु र सामाजिक लोकतन्त्रीकरणको प्रक्रियालाई सघाउने उद्देश्यसहित खुलेका यस्ता सामुदायिक रेडियोले जनताको सरोकार र सवाललाई छलफल र बहसमा ल्याउन निकै प्रयास गरेका छन् । तर, अझै सामुदायिक रेडियोहरूले समुदायका निम्ति गर्नुपर्ने धेरै काम बाँकी नै छन् । राज्यमा एक जाति, भाषा, धर्म, संस्कृति र समुदायको मात्रै वर्चस्व कायम रहेका कारण राज्य लोकतान्त्रिक हुनसकेन । त्यस्तै नेपाली मिडियाहरूमा पनि अहिले हेर्दा त्यही राज्य संरचनाको प्रतिविम्ब नै स्पष्ट रूपमा देखिन्छ । नेपालका सामुदायिक रेडियोहरूले स्थानीय भाषा, संस्कृति र सवालहरूलाई अन्य मिडियाका तुलनामा केही मात्रामा बढी नै सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ । सामाजिक उत्तरदायित्वको हिसाबले पनि मिडियाको सामाजिक लोकतन्त्रीकरण धेरै महत्त्वपूर्ण भूमिका रहन्छ । उत्पीडनमा पारिएका जाति, भाषा, क्षेत्र र समुदायको आवाजलाई राज्य सञ्चालनको तहसम्म पुर्याउने र नीति निर्माण तहमा नै प्रभाव पारी लोकतान्त्रिक समाजव्यवस्था निर्माण गर्नु मिडियाहरूको दायित्व हो । नेपालका मिडियाले त्यो क्षेत्रमा थोरै भए पनि काम गरेका छन् । तर, सरकारको सञ्चालनमा रहेको रेडियो नेपालले केन्द्रमा रहेका शासक र प्रभावशाली वर्गको मात्रै आवाज स्थानीय तहसम्म पुर्याउने तर गाउँका जनताको आवाज कहिल्यै पनि सम्बोधन गर्नसकेन । त्यस्तै व्यावसायिक रेडियोहरूले पनि आˆनो उद्देश्य मुनाफा कमाउने बनाएका कारण गरिब, किसान, मजदुर, दलितलगायतका मुद्दालाई सहीरूपमा सम्बोधन गर्न सकिरहेको छैन । यसका कारण नेपाली समाजको विविधतालाई सम्बोधन गर्ने र सबै भाषा, क्षेत्र, जाति र समुदायको आवाजलाई सम्बोधन गर्न स्थानीय तहमा सामुदायिक रेडियो खुलेका छन्, ती प्रभावकारी हुँदै गएका छन् । त्यसैको प्रतिविम्बन हो सामुदायिक रेडियो । यी रेडियोहरूले केही मात्रामा भए पनि स्थानीय तहका जनताका आवाज बोल्न सुरु गरेको छ । यसले स्थानीय समुदायलाई सशक्तिकरण गराउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । त्यसैले नै सामुदायिक रेडियोलाई आवाजविहीनहरूको आवाजका साथै जाति, लिङ्ग, जाति, वर्ग तथा समुदायका आधारमा दबाइएका जनताको मुखपत्रका रूपमा स्वीकार गरिएको हो । सामुदायिक रेडियोलाई 'जनताद्वारा र जनताका लागि सञ्चालित रेडियो'का रूपमा बुझिन्छ । गैरनाफामूलक संस्थाद्वारा सञ्चालित यस्ता रेडियो स्वामित्व, व्यवस्थापन र नियन्त्रण पनि जनताकै हातमा हुनुपर्छ भन्ने अवधारणालाई आत्मसात् गर्छ । त्यस्तै प्रसारण सामग्रीका हिसाबले पनि स्थानीय जनताको सही प्रतिनिधि हुनुपर्छ भन्ने सामुदायिक रेडियोले विश्वास राख्छ । जुन त्यही समुदायका बासिन्दाका लागि उपयोगी हुनुपर्छ र उनीहरूकै चासो, सरोकार र जनजीविकासँग सम्बन्धित हुनुपर्छ । यद्यपि सरकारको सामुदायिक रेडियोलाई नीतिगत रूपमा स्पष्ट व्याख्या भने अझै गरिसकेको छैन । नेपालमा सामुदायिक रेडियो सुरु भएको लामो समय भएको छैन । एक दसकसम्मको यात्रा नेपालका सामुदायिक रेडियोले पार गरेको छ । २०४६ सालको जनआन्दोलनपछिको केही खुला राजनीतिक परिवेशमा तत्कालीन सरकारले निजीक्षेत्रले पनि पि|mक्वेन्सी मोडुलेशन -एफएम) प्रसारण गर्न पाउने व्यवस्था गरेपछि मात्रै नेपालमा स्वतन्त्र रेडियो प्रसारण अस्तित्वमा आएका हुन् । सरकारले राष्ट्रिय प्रसारण ऐन २०४९ को मर्म अनुरूप २०५२ सालमा राष्ट्रिय प्रसारण नियमावली जारी गर्यो । २०५२ कात्तिक ३० गते रेडियो नेपालले नै १०० मेघाहर्जमा एफएम काठमाडौं प्रसारण सुरू गर्यो । यो एफएम भए पनि सरकारी स्वामित्वको नै थियो । त्यसपछि केही व्यवसायिक रेडियो स्टेसन हुँदै २०५४ सालमा रेडियो सगरमाथाले प्रसारण इजाजत प्राप्त गरेपछि मात्रै नेपालमा सामुदायिक रेडियो अस्तित्वमा आएका हुन् । यसरी खुल्न सुरु गरेका सामुदायिक रेडियोहरूको सङ्ख्यामा निकै वृद्धि भइरहेको छ । सूचना तथा सञ्चारमन्त्रालयको तथ्याङ्क अनुसार २०६५ अहिलेसम्म सामुदायिक र स्थानीय गरी २ सय ९९ वटा वटा एफएम रेडियो दर्ता भइसकेका छन् । यीमध्ये एक सय ८४ वटा सामुदायिक रेडियोले प्रसारण अनुमति इजाजतपत्र लिइसकेका छन् भने ८० वटाभन्दा बढी सामुदायिक रेडियो प्रसारणमा गइसकेका छन् । सामुदायिक रेडियो समुदायकै व्यवस्थापन र नियन्त्रणमा सञ्चालन हुने भएकोले यसको मुख्य दायित्व सामाजिक सशक्तिकरण नै हो । जतिबेला जनता जागरुक हुन्छन् त्यतिबेला मात्रै सामाजिक विकास प्रक्रियाले पनि गति लिन्छ । त्यसैले समुदायिक सहभागितामा वृद्धि गर्ने, स्थानीय भाषा, संस्कृतिको संरक्षण र विकास गर्ने, पछाडि पारिएका जाति, वर्ग, क्षेत्र र समुदायको सशक्तिकरण र लोकतान्त्रिक न्यायपूर्ण समाज निर्माण गर्ने नै सामुदायिक रेडियोको उत्तरदायित्व हो । समाजमा व्याप्त कुरीति अन्धविश्वास हटाई समाजमा दलित, महिला, पछाडि पारिएका वर्ग र समुदायमाथि विद्यमान विभेद अन्त्य गर्ने र ती समुदायका न्यायका पक्षमा ती रेडियो उभिनुपर्छ । साथै कुनै जाति वा समुदायप्रति अर्को कुनै जाति, भाषा, संस्कृति र धर्मका मानिसहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक छ भने त्यसलाई हटाउने र पछाडि पारिएका तथा अल्पसङ्ख्यक वर्गका मानिसलाई समाजका अन्य वर्गसरह अगाडि ल्याउन सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका हुन्छ । समाजका सबै क्षेत्रमा सबैभन्दा पछाडि पारिएका महिला, दलित, आदिवासी जनजाति, मधेसी आदि समुदायको अधिकारलाई स्थापित गरी समतामूलक समाज निर्माण गर्नु पनि सामुदायिक रेडियोको उत्तरदायित्व हो । त्यस्तै समाजमा रहेको जातीय भेदभाव वा छुवाछूत जस्ता अन्धविश्वासलाई हटाउने खालका कार्यक्रम प्रसारण गरेर सामुदायिक रेडियोले समाजका अल्पसङ्ख्यक र पछाडि पारिएको वर्ग तथा समुदायको उत्थानमा सकारात्मक भूमिका खेल्नु सामुदायिक रेडियोको उत्तरदायित्वभित्र पर्छ । तर, नेपालका सामुदायिक रेडियोहरूले समाजमा अलि सशक्तिकरण भइसकेका वर्ग र समुदायलाई मात्रै सशक्तिकरण गर्ने र समाजका सबैभन्दा पछाडि पारिएका वर्ग तथा समुदायलाई छाडिरहेका छन् । यसको उदाहरणका रूपमा यसरी हेर्दा सामाजिक—सांस्कृतिक, आर्थिक, राजनीतिक, शैक्षिकलगायतका सबै क्षेत्रबाट पछाडि पारिएका दलित समुदायका सवालमा उत्पादन भएका कार्यक्रम, नीति निर्माण गर्ने तहमा उनीहरूको प्रतिनिधित्वलाई हेर्नसकिन्छ । एक अध्ययन अनुसार एउटा सामुदायिक रेडियो दैनिक औसत १५ घण्टा प्रसारण हुन्छ तर, उसले सबैभन्दा पछाडि पारिएको दलित समुदायका लागि आˆनो प्रसारण अवधिको ०.६० प्रतिशत समय छुट्याउँछ । नीति निर्माण गर्ने तह तथा कार्यान्वयन गराउने निकायमा पनि दलितहरूको जम्माजम्मी पाँच प्रतिशत मात्रै प्रतिनिधित्व देखाउँछ । जसले नेपालका सामुदायिक रेडियोले सबैभन्दा उत्पीडनमा पारिएका दलित समुदायलाई छुटाइरहेको देखाउँछ । आदिवासी जनजातिको हकमा पनि उनीहरूको समानुपातिक प्रतिनिधित्व देखिँदैन । यस तथ्याङ्कले पनि सामुदायिक रेडियोले सामाजिक लोकतन्त्रीकरण र सिङ्गो उत्पीडनमा पारिएका समुदायको रेडियो हुनसकेको छ कि छैन भन्ने प्रश्न उठाउँछ । साथै यसले समाजको लोकतन्त्रीकरणमा निकै महत्त्वपूर्ण भूमिका रहेका रेडियोहरू आफैंमा सामुदायिक सहभागिता र कार्यक्रमिक हिसाबले कति समावेशी छ त भन्ने स्पष्ट देखाउँछ । नेपालमा सञ्चालित सामुदायिक रेडियोमध्ये अधिकांश गैरसरकारी संस्थाले सञ्चालन गरेका छन् । हाल प्रसारणमा रहेका सामुदायिक रेडियोमध्ये ५९ अर्थात् ७४ प्रतिशत रेडियो गैरसरकारी संस्थाको स्वामित्वमा रहेको देखिन्छ । त्यस्तै स्थानीय सरकार र सहकारी संस्थाको स्वामित्वमा २१ अथवा २६ प्रतिशत रेडियो सञ्चालित छन् । यसरी प्रसारित रेडियोमा प्रसारण क्षेत्रका सबै समुदायको स्वामित्व भने हुनसकेको छैन । काठमाडौंको शासक र धनाढ्य तथा 'एलिट'हरूको पहुँचमा भएको रेडियो जिल्ला तहका एलिटहरूसम्म मात्रै पुगेको विभिन्न अध्ययनले देखाएका छन् । सामुदायिक रेडियोको स्वामित्व र नियन्त्रण समुदायकै हातमा हुनुपर्छ भन्ने सैद्धान्तिक मान्यता भए पनि अझै निरपेक्ष गरिबीका रेखामुनि रहेको वर्ग, दलित, आदिवासी जनजातिको नियन्त्रणमा सामुदायिक रेडियो पुग्नैसकेको छैन । सहकारी, गैरसरकारी संस्था र स्थानीय सरकार विशेष गरी निश्चित जाति, वर्ग वा समुदायकै नियन्त्रणमा भएका कारण ती संस्थाले सञ्चालन गरेको रेडियोमा सबै वर्ग, समुदाको प्रतिनिधित्व हुनसकेको छैन । जसकारण सामुदायिक रेडियोको नीति निर्माण तहदेखि कार्यक्रम उत्पादनसम्म सोही किसिमको संरचना कायम छ । नीति निर्माण गर्ने तहमा कुन जाति, धर्म, सांस्कृतिक मान्यता भएको मानिस छ, सोही अनुरूप नै रेडियोको पनि नीति र कार्यक्रम बन्छन् । अहिलेसम्म सामुदायिक रेडियोहरूमा ६९ प्रतिशत क्षेत्री बाहुनकै नेतृत्वमा सञ्चालित देखिन्छ भने ७३ प्रतिशत स्टेसन म्यानेजर पनि सोही समूहका छन् । यदि परम्परागत विभेदकारी सांस्कृतिक मान्यताका विरुद्ध नेतृत्वकर्ता खरो ढङ्गबाट उत्रन्छ र समाजका गरिबीका रेखामुनि रहेका जनता, दलित, महिला, जनजातिलगायतका पक्षमा आफूलाई उभ्याउन तयार छ भने मात्रै उनीहरूका विषयमा नीति बन्ने र कार्यान्वयन हुन्छ । नेपालमा सामुदायिक रेडियोमा समुदायको स्वामित्व कस्तो हुनुपर्ने भन्ने विषयमा अहिलेसम्म कुनै नीति बनेको छैन । जसका कारण कतिपय सामुदायिक रेडियो कसरी समुदायको स्वामित्वमा रेडियो सञ्चालन गर्ने र कसरी उनीहरूलाई रेडियोको सदस्य बनाउने भन्ने विषयमा अन्योलमा नै देखिन्छन् । निश्चित जाति र समुदायको मात्रै ती रेडियोहरूमा स्वामित्व रहेको छ । यसकारण सामुदायिक रेडियोको स्वामित्वकै आधारमा त्यसको नेतृत्व चयन हुने र सोही नेतृत्वले नै रेडियो सञ्चालनको नीति तर्जुमा गर्ने र कार्यान्वयन पनि गर्ने भएकाले रेडियोमा दलित, महिला, जनजातिलगायतका रेडियोमा स्वामित्व नै नभएपछि उनीहरूको नेतृत्व र नियन्त्रणमा कार्यक्रम उत्पादन र प्रसारण हुने कुरै भएन । राज्यको पुनःसंरचनाको मुद्दा यतिबेला मुलुकको सबैभन्दा महत्त्वपूर्ण बहसको विषय बनेको छ । संविधानसभामार्फत राज्य तथा सामाजिक पुनःसंरचना प्रक्रियाको पनि थालनी भइसकेको छ । राज्यसत्ता, शक्ति र स्रोतमाथि निश्चित वर्ग, जाति र समुदायको मात्रै लामो समयदेखि वर्चस्व रहँदै आएका कारण पनि नेपालमा राज्यको पुनःसंरचनाको बहस तीव्ररूपमा अगाडि बढेको हो । जसले अहिले राज्य, राजनीतिक निकाय र सामाजिक तहसम्म समावेशीकरण र राज्यपुनःसंरचनाको विषय प्रमुख रूपमा उठाएको छ । पञ्चायत शासनपछिको समाजमा पछाडि पारिएका जाति, वर्ग, समुदाय र लिङ्गलगायतका आवाज बिस्तारै सतहमा आउनथाले । सत्ता, शक्ति र स्रोतमाथिको अधिकारबाट वञ्चितिकरणमा पारिएका आदिवासी जनजाति, महिला, मधेसी, दलितलगायत समुदायले राज्यमा समावेशीकरणको मुद्दालाई आन्दोलनकै रूपमा स्थापित गराए । मुलुकको राजनीतिक स्थायित्व र दिगो शान्तिका लागि समावेशी लोकतन्त्र अनिवार्य भइसकेपछि राजनीतिक दलहरूले पनि यो मुद्दालाई राजनीतिक मुद्दा बनाउन बाध्य भए । अहिले नेपाली मिडियाको सन्दर्भमा पनि पुनःसंरचना जरुरी भइसकेको देखिन्छ । समाजमा रहेको जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गकि र सांस्कृतिक विभेदको अन्त्य गरी उन्नतिशील समाजको निर्माण गर्न समावेशी लोकतन्त्र अनिवार्य हुन्छ । सामाजिक तहका साथै राज्यतहसम्म उत्पीडनमा पारिएका समुदायको प्रतिनिधित्व नहुँदासम्म समाजले प्रगतिको गति लिनसक्दैन । त्यसैले बहुलवादी नेपाली समाजको रूपान्तरण सामाजिक—सांस्कृतिक, आर्थिक, राजनीतिक, लैङ्गकि समावेशीकरणबाट मात्रै हुनसक्छ । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा सबैको समान अधिकार स्थापित गरी समाज रूपान्तरण गर्न समावेशी लोकतन्त्र जरुरी हुन्छ । सामाजिक रूपान्तरणका लागि सञ्चारमाध्यको निकै महत्त्वपूर्ण भूमिका रहन्छ । सामुदायिक रेडियोमा रेडियो प्रसारण क्षेत्रभित्र भएका सबै जाति, क्षेत्र, वर्ग र समुदायको नीति निर्माण तहदेखि कार्यक्रम उत्पादन तथा प्रसारणमा समानुपातिक सहभागिता अहिलेसम्म गराउनसकेका छैनन् । नीति निर्माण गर्ने तहमा पनि उनीहरूको उपस्थिति नभएका कारण उनीहरूको निम्ति कार्यक्रम बन्न नसकेका हुन् । त्यसकारण राज्यले सामुदायिक रेडियोलाई परिभाषित गर्दा नै सामुदायिक रेडियोको स्थानीय जातीय बनोटको सापेक्षतामा उनीहरूको सहभागिता र कार्यक्रमिक हिसाबले पनि उनीहरूको जनसङ्ख्याको सापेक्षतामा उत्पादन तथा प्रसारण गर्ने बाध्यकारी व्यवस्था गर्न जरुरी देखिन्छ । त्यस्तै सामुदायिक रेडियोसँग सम्बन्धित सरोकारवाला सङ्घसंस्थाले पनि यो विषयलाई आˆनो नीति बनाउन जरुरी छ । साथै सामुदायिक रेडियोले दिने सामग्रीहरू स्थानीय सबै जाति, वर्ग, समुदाय वा क्षेत्रका साथै उनीहरूको सरोकारका केन्दि्रत छ कि छैन हेरेर ती सामग्री उत्पादनमा उनीहरूको पहुँच र सहभागिता बढाउन कानुन र नीतिहरू निर्माण गर्नुपर्छ । साथै राज्यले सामुदायिक रेडियोको व्यवस्थापन र कार्यक्रम साँच्चिकै सामुदायिक सहभागितामा हुन सकिरहेको छ कि छैन अनुगनम र नियमन गर्नुपर्छ । नेपालका सामुदायिक रेडियोहरूको संरचना असमावेशी चरित्रको भएका कारण गरिब, दलितलगायतका विषयमा न त नीति बन्छ, न त बनेका नीति नै कार्यान्वयन हुन्छन् । अधिकांश सामुदायिक रेडियोहरूले उत्पीडित समुदायलाई सशक्तिकरण गर्ने आˆनो मार्गनिर्देशक सिद्धान्तमा उल्लेख गरे पनि कार्यान्वयन गर्ने तहमा दलित समुदायको उपस्थिति नै नभएका कारण उनीहरूको आवाजलाई सामुदायिक रेडियोले व्यवहारमा उतार्न सकिरहेका छैनन् । त्यसैले सामुदायिक रेडियोको हरेक संरचनामा दलित समुदायको प्रतिनिधित्व जरुरी देखिन्छ । लोकतन्त्रलाई आत्मसात् गर्ने सामुदायिक रेडियोहरूले आफूलाई सहभागिता र प्रसारण हुने विषयहरूमा समावेशी बनाउनसके नेपाली समाजको लोकतन्त्रीकरणले तीव्रता पाउँछ । http://www.gorkhapatra.org.np/detail.php?article_id=11708&cat_id=4 |
Comments