जातिवादसामु घुँडा टेकेको नेपाली मार्क्सवाद
जेबी विश्वकर्मा २०७७ श्रावण १७ शनिबार १०:४५:०० अहंकार निर्देशित नरसंहार सन् २०१४ डिसेम्बर १६ मा पाकिस्तानको पेसावरमा आतंकवादीले एक्कासि गोली हानी १३४ जना बालबालिकासहित १५० जनाको हत्या गरेजस्तै वा शक्तिकेन्द्रले अफगानिस्तान, सिरिया, लिबिया आदि देशमा युद्धकविमानबाट आक्रमण गरी सयौँ निहत्था नागरिकको हत्या गरेझैँ रुकुम सोतीमा गाउँलेले निहत्था १८ जना युवामाथि आक्रमण गरी नवराज विश्वकर्मा (२१), टीकाराम सुनार (२०, गणेश बुढामगर (१७), लोकेन्द्र सुनार (१८), सञ्जु विक (२१) र गोविन्द शाही (१९)को नृशंस हत्या गरियो । आतंकवादी हमलालेझैँ मनमस्तिष्क हल्लाउने रुकुम नरसंहारले सिंगो राज्यसंयन्त्र, राजनीति, नागरिक संगठनसमक्ष गम्भीर प्रश्नहरू खडा गरिदिएको छ । संसारभरि नै अत्याचारी शासकहरूले वर्ग, रङ्ग र जातका मानिसमाथि चरम दमन गर्दै आएका छन् भने त्यस्ता दमनविरुद्ध प्रतिरोध संघर्ष पनि प्रशस्त भएका छन् । पहिलो विश्वयुद्धको अन्त्यपछि अमेरिकामा रङ्गभेदी अहंकारवादी गोराहरूले अफ्रिकन-अमेरिकनमाथि अत्याचारी हत्याको शृङ्खला नै चलाएका थिए । मिचिगनमा उत्तर र दक्षिणी गाउँबाट कामका लागि सहर पसेका अफ्रिकन-अमेरि...